
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षीय नेताहरूले अहिलेको अंकगणितमा पछि परे पनि राजनीतिक मुद्दाका हिसाबले आफूहरू फेरि स्थापित हुने दाबी गरेका छन् ।
निर्वाचन आयोगमा सनाखतका लागि पुगेका कार्यकारिणी सदस्यहरूले जनतामा जानका लागि आफूहरूसँग राजनीतिक एजेण्डा बाँकी रहेको बताएका हुन् ।
कार्यकारिणी सदस्य एवं प्रदेश २ का सांसद जितेन्द्र सोनलले राजनीतिमा उतारचढाव आइरहे पनि मधेशमा आफूहरू फेरि स्थापित हुने दाबी गरेका हुन् ।
‘गत वर्ष उपेन्द्र यादवजीको अवस्था कस्तो थियो ? अहिले उहाँ बलियो हुनुभयो । हामी फेरि बलियो भएर आउँछौँ,’ सोनलले भने ।
महन्थ पक्षीय अर्का नेता डा. सुरेन्द्र झाले महन्थ ठाकुरलाई प्रतिगमनको मतियार भनेर कारबाही गर्ने हैसियत उपेन्द्र यादवसँग नभएको दाबी गरे ।
‘हिजो उपेन्द्रजी केपी ओलीको सरकारमा १८ महिना झण्डा हल्लाएर हिँडेको होइन, देउवाले प्रजातन्त्र दरबारमा लगेर बुझाएको होइन ? को प्रतिगामी ?’ झाले प्रश्न गरे ।
उपेन्द्र यादवको पक्षमा ५१ मध्ये ३४ जनाले हस्ताक्षर गरेको सो पक्षका एक नेताले जानकारी दिए । महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । निर्वाचन आयोगले भोलिसम्ममा जसपा विवाद टुंगाउने अपेक्षा गरिएको नेता यादवले बताए ।