
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ज्ञानेन्द्र शाहले नाति हृदेयन्त्रलाई ‘बेबी किङ’ बनाउने भारतको प्रस्ताव अस्वीकार गरेपछि नेपालमा गणतन्त्र स्थापना भएको दावी गरेका छन् ।
हृदेयन्द्रलाई ‘बेबी किङ’ बनाउने प्रस्तावमा ज्ञानेन्द्रले म मरेपनि त्यसो हुन दिन्न भनेको मिश्रले दावी गरेका छन् ।
संघीयताको खारेजी र धर्मनिरपेक्षता बारे जनमत संग्रह गर्नुपर्ने अवधारणासहित बहसका लागि सोमवार सार्वजनिक राजनीतिक प्रस्तावमा मिश्रले ‘बेबी किङ’को प्रस्तावमा ज्ञानेन्द्रको प्रत्युत्तरबाट चिढिएको भारत एक कदम अगाडि पुगेर गणतन्त्रको पक्षमा पुगेको दावी गरेका हुन् ।
‘गणतन्त्रको आन्दोलनको उत्कर्षमा पुगेको बेला भारतले राजा ज्ञानेन्द्रलाई विभिन्न किसिमका प्रलोभन देखाएको र बाचाहरू गरेको बताइन्छ । यद्यपि, तिनका ठोस विवरण बाहिर आएका छैनन् । तर बाहिर आएको एउटा तथ्य ‘बेबी किङ’को हो, जसअन्तर्गत राजा ज्ञानेन्द्रलाई हटाएर बाल राजाका रुपमा उनकै नाति हृदेयन्द्रलाई गद्दीसिन गराउने भारतको चेष्टा थियो । राजा ज्ञानेन्द्रले प्रत्युत्तरमा ‘म मरेपनि त्यो हुन दिन्न’ भन्दै ‘गद्दी नेपालीको नासो हो र त्यो म नेपालीलाई लगाउँछु, तर भारतले चाहे अनुरुप गर्दिन’ भनेर गद्दी त्यागको बाटो रोजेको बताउने जानकारहरु जिवित छन्’ मिश्रले सोमवार सार्वजनिक गरेको राजनीतिक वक्तव्यमा भनिएको छ, ‘राजा ज्ञानेन्द्रको प्रत्युत्तरबाट चिढिएको भारत बाल राजाको अवधारणाबाट एक कदम अघि बढेर गणतन्त्रको पक्षमा पुगेको थियो ।’
२०६२/६३ सालको जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते नेपालबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको थियो । गणतन्त्रको प्रस्तावलाई पश्चिमा राष्ट्र र पश्चिमाको धर्मनिरपेक्षता सम्बन्धी प्रस्तावलाई भारतले स्वीकार गरेको मिश्रले दावी गरेका छन् ।
साझा पार्टीका अध्यक्ष मिश्र विगतमा बीबीसीमा काम गरेका थिए ।