२३ जेठ २०८३, शनिबार

नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित

साउन १२, २०७८
नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित

विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् । उनको यो निर्णयले नेपाली क्रिकेटप्रेमी उत्साहित भएका छन् ।

चौथो संस्करणको ईपीएल आगामी ९ असोजदेखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने तालिका छ । काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम सार्वजनिक गरेको छ ।

अफ्रिदीले भिडियो कन्फ्रेन्समार्फत काठमाडौंमा क्रिकेट खेल्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । उनले नेपालको क्रिकेटको विषयमा धेरै जानकारी नभए पनि युवा नेपाली खेलाडीसँग डे«सिङ रुम सेयर गर्न पाउँदा उत्साहित भएको बताए ।

अफ्रिदी नेपाल आउन लागेका अलराउन्डर खेलाडी हन् । ४१ वर्षीय अफ्रिदी विश्व क्रिकेटकै उत्कृष्ट अलराउन्डर मानिन्छन् । उनलाई ‘बुमबुम’ अफ्रिदी पनि भन्ने गरिन्छ । अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित छन् ।

अफ्रिदीलाई सार्वजनिक गर्दै टिमका मालिक रोहित गुप्ताले विश्व खेलकुदमा सुपरस्टारलाई आफ्नो टोलीमा सार्वजनिक गर्न पाउँदा निकै उत्सुक र गौरवान्वित भएको बताए । अफ्रिदीलाई अनुबन्ध गर्नुको उद्देश्य च्याम्पियन बन्नु रहेको बताइएको छ ।

काठमाडौं किंग्सबाट ईपीएल खेल्ने

अफ्रिदीले सामाजिक सञ्जालमार्फत जोडिँदै काठमाडौंबाट ईपीएल खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् । ‘मैले जानेको कुरा नेपाली क्रिकेट खेलाडीलाई सिकाउनेछु । यसले मलाई र नेपाली क्रिकेटलाई केही हदसम्म सहयोग गर्ने विश्वास छ,’ उनले भने ।

अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३ सय ९८ ओडीआई र ९९ टी–२० अन्तर्राष्टिय खेल खेलेका छन् ।

अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडीआईमा डेब्यु गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए । उनले ओडीआईमा ८ शतक र ३९ अर्धशतकसहित कुल ८ हजार ६४ रन तथा ३ सय ९५ विकेट लिएका छन् । अफ्रिदीले २००६ मा इंग्ल्यान्डविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । उनले १ हजार ४ सय १६ रन बनाउँदा ९८ विकेट लिएका छन् ।

ओडीआईमा उनले १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए । जुन खेलमा अफ्रिदी ओडीआईमा शतक प्रहार गर्ने सर्वाधिक कान्छा खेलाडी बनेका थिए । उनले १६ वर्ष २ सय १७ दिनमा श्रीलंकाविरुद्ध शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए । २००९ को टी–२० विश्वकप जिताउन अफ्रिदीले फाइनलमा श्रीलंकाविरुद्ध ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

उनले सन् २०१६ पछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनले फ्रेन्चाइज लिग भने निरन्तर खेल्दै आएका छन् । उनीसँग झन्डै दुई दर्जन टी–२० लिगको अनुभव छ । काठमाडौंले गत वर्ष केभिन ओ ब्रायन र न्युजिल्यान्डका कोरी एन्डरसनको नाम सार्वजनिक गरेको थियो । केभिन र कोरी यो वर्ष आउने वा नआउने निश्चित छैन ।

काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावतलगायतका खेलाडी छन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्