
तपाईंले यस वर्षको ओलम्पिक खेल हेरिरहनुभएको छ भने पदक तालिकामा आरओसी पनि देख्नुभएको होला ।
त्यो कुन देश होला भनी तपाईंलाई लागेको हुनुपर्छ । आरओसी भनको रसियन ओलम्पिक कमिटीको छोटकरी रूप हो ।
रुसमा खेलाडीको प्रदर्शन राम्रो बनाउन सरकारी तहबाटै औषधि दिइएको विषयमा विवाद भएपछि रुसलाई ओलम्पिकमा प्रतिबन्ध लगाइएको छ । त्यसैले टोक्यो ओलम्पिकमा रुसका खेलाडीहरूले भाग लिन पाएका छन् तर उनीहरू देशको झण्डामा नभई देशको ओलम्पिक कमिटीको झण्डा लिएर प्रतिस्पर्धा गरिरहेका छन् ।
आरओसीले रुस देशलाई प्रतिनिधित्व गरिरहेको छैन भन्ने विषयलाई स्पष्ट पार्न केही विशिष्ट नियमहरू बनाइएको छ ।
सन् २०१९ मा वर्ल्ड एन्टी–डोपिङ एजेन्सीले रुसलाई ओलम्पिक लगायत सबैथरी विश्व प्रतियोगिताबाट चार वर्षका लागि प्रतिबन्ध लगाएको थियो । खेलाडीलाई औषधि नखुवाउने अर्थात् डोपिङ नगर्ने नियमलाई रुसले तोडेको पाइएकाले यस्तो प्रतिबन्ध लगाइएको थियो ।
पोहोर साल खेलकुदको अन्तर्राष्ट्रिय अदालतले रुसको पुनरावेदनलाई सुनुवाइ गर्दै प्रतिबन्धलाई दुई वर्षका लागि घटाएको थियो । त्यो प्रतिबन्ध डिसेम्बर १६, २०२२ मा अन्त्य हुनेछ । त्यस समयसम्म रुसका खेलाडीहरूले आफ्नो देशको नाम, झण्डा र राष्ट्रगानका साथ ओलम्पिकमा सहभागी हुन पाउने छैनन् ।
प्रतिबन्धका कारण रुसका खेलाडीहरूले तटस्थ खेलाडीका रूपमा सहभागी हुन पाउनेछन् । अर्थात् प्राविधिक रूपमा उनीहरूले विशेष देशको प्रतिनिधित्व गर्न पाउने छैनन् । तर त्यसका लागि पनि उनीहरूले आफू डोपिङ विवादमा नपरेको प्रमाणित गर्नुपर्छ ।
टोक्यो ओलम्पिकमा ३०० भन्दा बढी खेलाडीहरू त्यसै गरिरहेका छन् ।
रुसी टोलीको लुगामा देशको सेतो, नीलो र रातो रंग समावेश गरिएको छ । अनि विगतका ओलम्पिकमा रुसलाई प्रतिनिधित्व गरेका खेलाडी पनि अहिले प्रतिस्पर्धा गरिरहेका छन् ।
तर रुसको झण्डाको साटो टीमको झण्डामा ओलम्पिकको मशाल छ र रुसका तीन रंगहरूले मशाल पोतिएको छ अनि त्यो मशाल पाँचवटा ओलम्पिक रिंगभन्दा माथि छ । आरओसीको कुनै खेलाडीले स्वर्ण पदक जितेमा रुसको राष्ट्रगानको साटो प्योत्र चाइकोव्स्कीको पियानो कोन्चेर्तो नम्बर १ बजाइन्छ ।
रुसीहरूले विगत एक शताब्दीमा विभिन्नथरी टोली नाममा खेलेका छन् । रुसी साम्राज्य, सोभियत संघ र एकीकृत टोलीका नाममा उनीहरूले विगतमा खेलेको इतिहास छ ।
सन् २०१६ को रियो ओलम्पिकमा १०० भन्दा बढी रुसी खेलाडीहरूलाई प्रतिबन्ध लगाइएको थियो । राज्यले नै डोपिङ गराएको भन्ने प्रतिवेदन प्रकाशन भएलगत्तै यस्तो प्रतिबन्धको घोषणा गरिएको थियो ।
अहिलेको प्रतिबन्धका कारण रुसले सन् २०२२ को फूटबल विश्वकप वा त्यही वर्ष आयोजना गरिने शीतकालीन ओलम्पिकमा पनि देशका रूपमा सहभागी हुन पाउने छैन । सन् २०२४ मा पेरिसमा आयोजना गरिने ओलम्पिकमा मात्र रुसको झण्डा र राष्ट्रगान देख्न सुन्न पाइनेछ ।
टोक्यो ओलम्पिकमा आरओसीले अहिलेसम्म पाँच स्वर्ण, सात रजत र तीन कास्य गरी १५ पदक जितेको छ र पदकतालिकामा चौथो स्थानमा छ ।