
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिगमनका मतियार बाहिर जानुस् भनेर एमाले सांसद नारदमुनी रानालाई दिएको अभिव्यक्तिको एमाले सांसदले संसद्मा विरोध गरेकी छिन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद गंगा चौधरी सत्गौवाले समान हैसियतको सांसदलाई बाहिर जाऊ भनेर संसदीय समितिमा माधव नेपालले दिएको निर्देशन अधिनायकवादी चरित्र भएको आरोप लगाएकी हुन् ।
‘समान हैसियतको सांसदलाई बाहिर जानुस् भनेर संसदीय समितिमा अधिनायकवादी चरित्र प्रदर्शन भएको छ, थारु समुदायको अपमान भएको छ । साउन १० गते भएको थारुमाथि शोषण गरेको झझल्को दिएको छ,’ चौधरीले भनिन् ।
यसअघि गत आइतवार प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिमा एमाले वरिष्ठ नेता नेपालले सांसद नारदमुनी रानालाई प्रतिगमनका मतियार बाहिर जानुस् भनेर निर्देशन दिएका थिए ।