चिकित्सकहरुले १४ वर्षभन्दा माथिका सबैै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्था निम्त्याउन सक्ने खतरा रहेकोले तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक दीक्षितले १४ वर्ष माथिको उमेरका सबै नागरिकलाई कोरोना विरुद्धको खोपको आवश्यक व्यवस्था तत्काल गर्न आग्रह गरे । उनले भने, “१४ वर्ष माथिका सबै नागरिकलाई सरकारले तत्काल कोरोना विरुद्धको खोपको व्यवस्था गर्नुपर्छ । कोरोनाको तेस्रो लहर नेपालमा आउने सम्भावना बढेर गएकोले त्यस्तो भयावह अवस्था आउन नदिन स्वास्थ्य सुरक्षाका मापदण्ड नागरिकले पालना गरे÷नगरेको विषयमा कडा अनुगमन गर्न सरकारले गृह मन्त्रालय र स्थानीय तहको सरकारलाई जिम्मेवार बनाउनु पर्दछ । निषेधाज्ञालाई खुुकुलो बनाउने काम गर्नुहुन्न ।”
त्यसैगरी चिकित्सक डा. सागर भण्डारीले नेपालमा एक महिना भित्रै कोरोनाको तेस्रो लहर आउन सक्नेतर्फ सचेत गराए । उनले तेस्रो लहरबाट जनतालाई बचाउन तीनै तहको सरकारले गम्भीर भएर स्वास्थ्य सुरक्षाका मापदण्डसँगै खोपलाई सर्वसुलभ बनाउनु पर्नेमा जोड दिए ।
वरिष्ठ चिकित्सक डाक्टर वासुदेव पाण्डेले कोरोनाविरुद्धको खोप नेपालमै उत्पादन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।
चिकित्सकहरुले सरकारले निषेधाज्ञालाई खुकुलो बनाएर कोरोना संक्रमणको दर बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।