
झापाको दमकमा कुदाएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पतिपत्नीको मृत्यु भएको छ ।
सुनसरीको इटहरीबाट झापाको सुरुंगातर्फ जाँदै गरेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका–३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी पत्नी ३६ वर्षीया भीमा विष्टको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लाइफलाइन अस्पताल दमक र्पुयाउनसाथ चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय दमले जनाएको छ ।
चालकले मापसे गरेर ट्रक कुदाएका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीको भनाई रहेको छ ।
तीव्र गतिमा रहेको ट्रकले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–४ मा मंगलवार राति १० बजेतिर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रक र चालक विराटनगर महानगरपालिका–४ का ४८ वर्षीय सुजन थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।