
भारतको बनारसमा रहेको विश्वनाथ मन्दिरको बाटो साँघुरो नहोस् भनी ज्ञानवापी मस्जिद समितिले आफ्नो जमीनको एक भाग विश्वनाथ कोरिडोर प्रोजेक्टलाई दिएको छ ।
पारस्परिक सम्झौताअन्तर्गत मस्जिदबाट १७ सय वर्ग फीट जमीन लिएर विश्वनाथ मन्दिर ट्रस्टले एक हजार वर्ग फीट जमीन दिएको छ ।
अदालतबाहिर भएको यस सम्झौताबाट हिन्दूहरू खुशी छन् भने मुसलमानहरूले पनि यसलाई उदाहरणीय रूपमा लिएका छन् ।
जमीनको सानो भागको विषयमा गरिएको यस सम्झौतालाई ठूलो दृष्टिकोणमा तौलेर हेरिँदैछ । अयोध्यापछि हिन्दूवादी राजनीतिक दलहरूको केन्द्रविन्दु ज्ञानवापी मस्जिद हो ।
ज्ञानवापी मस्जिदसँग विश्वनाथ मन्दिरमा जोडिने तीनवटा घडेरी छन् । तीमध्ये एउटा १७ सय वर्गफीटको छ ।
बाबरी मस्जिद ध्वस्त भएपछि ज्ञानवापी मस्जिद र विश्वनाथ मन्दिरको सुरक्षाका लागि कन्ट्रोल रूम स्थापना गरिएको थियो ।
वाराणसी राजस्व विभागका अनुसार, यो जमीन सुन्नी वक्फ बोर्डको थियो ।
त्यही जमीनमा वक्फ बोर्डले काशी विश्वनाथ मन्दिर धामलाई सुम्पेको छ । त्यसको सट्टाभर्नाका लागि मन्दिरले ज्ञानवापी मस्जिदलाई एक हजार वर्गफीट घडेरीमा बनेको एउटा भवन दिएको छ ।
उक्त भवन मस्जिदबाट ४०० मिटर टाढा सडकको पारिपट्टि छ । त्यस भवनलाई मन्दिरले अनवारुलहकसँग लगभग पाँच करोड भारुमा किनेको हो ।