
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (शुक्रबार) साँझ ५ बजेका लागि बैठक बोलाएको हो ।
प्रधानमन्त्रीले साँझ ५ बजेका लागि बैठकका बोलाएका परिषद्का एक सदस्यले लोकान्तरलाई जानकारी दिए ।
आजको बैठकले संवैधानिक निकायहरूमा लामो समयदेखि रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।
हाल निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगको सदस्य एक र मुस्लिम आयोगका अध्यक्षसहित दुई पद रिक्त छन् ।
राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य पद रिक्त छ ।
थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन र महिला आयोगमा एक सदस्य पद खाली छ ।
ती पदहरूमा संवैधानिक परिषद्ले नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने संवैधानिक प्रावधान छ ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
बालेन सरकार बनेपछि परिषद्को बैठक दोस्रोपटक बस्न लागेको हो । यसअघि प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बसेको थियो ।
संवैधानिक परिषद् बैठकअघि हिजो (बिहीबार) संसदीय सुनुवाइ समितिको बैठक बसेको थियो ।