
नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद सदस्यता छानबिन समितिमै फर्किएको छ ।
छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि बुधवार बसेको कांग्रेस पदाधिकारी बैठकले विवाद समितिमै फर्काएर समाधानका लागि १ दिनको समय दिएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निजी निवासमा बसेको बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवादमा सहमति हुन बाँकी रहेका विषयलाई टुंगोमा पुर्याउन क्रियाशील सदस्यता छानबिन समितिलाई नै जिम्मा दिएको छ ।
क्रियाशील सदस्यतासम्बन्धी अधुरा विषय पूरा गर्न बिहीवार ३ बजेसम्ममा छानबिन समितिका सदस्यलाई जिम्मा दिएकाले त्यसपछि पार्टीले आफ्नो निर्णय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बिहीवार पुनः बैठक प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निवासमा दिउँसो २ बजे बस्नेछ ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, सहमहामन्त्री सुनिलबहादुर थापा, कोषाध्यक्ष सीतादेवी यादव, गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाँण, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य डा. रामशरण महत, पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व उपसभापति गोपालमान श्रेष्ठ लगायत १६–१७ जनाको उपस्थिति थियो ।