
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा घोषणा गरेपछि एन्फाले आपतकालीन बैठक डाकेको छ ।
अलमुताइरीले सामाजिक सञ्जालमा एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङमाथि विभिन्न आरोप लगाउँदै राजीनामा घोषणा गरेका थिए ।
सो विषयमा छानबिनको माग गर्दै वरिष्ठ उपाध्यक्ष नेम्वाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रीय कायसमितिको आपतकालीन बैठक शुक्रवार अपरान्ह ४ बजेका लागि बोलाएको हो ।
पछिल्लो घटनाक्रममा र साफ च्याम्पियनसिप आयोजनाको प्रस्ताव गरी दुईवटा विषयमा छलफलका लागि बैठक बोलाइएको एन्फाले जनाएको छ ।
कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप र एसिया कपका तीन गरी चार खेल खेलेको थियो ।