काठमाडौँ, २८ जेठ- पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ । कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो ।
पशुपतिमा बाँदरको आतंकबाट दर्शनार्थी पीडित भएको, एड्स, क्यान्सर रोग लागेका बाँदरबाट त्रसित हुनुपर्ने अवस्था आएको भन्दै गत वर्षको चैतमा सर्वोच्च अदालतमा रिट परेको थियो । सो रिट खारेजीको मागसहित कोषले सर्वोच्चलाई लिखित जवाफ पठाएको हो । सर्वोच्चले बाँदरको टोकाइ र आतंक रोक्न तथा भयमुक्त वातावरण बनाउन पशुपति क्षेत्र विकास कोष र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो, नयाँ पत्रिकामा खबर छ ।