
नेपाली मिडियामा दलित समुदायको सवाल उठाउन लुुम्बिनीका सम्पादकहरूले प्रतिबद्धता जनाएका छन् ।
जागरण मिडिया सेन्टरले मंगलवार र बुधवार आयोजना गरेको नेपाली मिडियामा दलित सवालमा सम्पादकहरूसँगको संवाद कार्यक्रमपछि १० बुँदे बुटवल प्रतिबद्धता पत्र जारी गर्दै जातीय छुवाछुत तथा सबै प्रकारका भेदभाव विरुद्धका सवाल उठाउन प्रतिबद्धता जनाएका हुन् ।
संविधान र समावेशीकरणको भावनाअनुरुप सरकारी तथा निजी मिडियामा दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितता गर्न समेत सम्पादकहरूले प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय आमसञ्चार नीतिलाई दलितमैत्री बनाउँदै यसको प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने, प्रदेश र स्थानीय सरकारका सञ्चारसम्बन्धी प्रतिष्ठानमा हुने नियुक्ति समावेशी सिद्धान्तको आधारमा र निजी क्षेत्रका सञ्चारमाध्यममा समेत सम्पादकीय समूहमा दलित समुदायको सहभागिता सुनिश्चित गर्न समेत माग गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधान र प्रेस स्वतन्त्रता विरोधी भएकाले त्यसलाई फिर्ता गरी पुनर्लेखन गर्न सम्पादकहरूले माग गरेका छन् ।