
विपक्षी दल नेकपा एमालेका राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको १६५ मतलाई नयाँ जनमतको रूपमा समर्थन गर्न नसकिने बताएका छन् ।
बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दाहालले जसपा र एमालेको संस्थागत निर्णय विनै गुटले मत हालेकाले ती जनमतलाई लत्याइएका व्यक्तिगत मत भएको दाबी गरे ।
उनले पार्टी निर्णय विनाका सांसदको मत अदालतका परमादेशलाई पुष्टि गर्ने नक्कली प्रमाण मात्रै भएको टिप्पणी गरे ।
उनले भने, ‘प्रतिनिधि सभामा शेरबहादुर देउवाको पक्षमा आएको १६५ मतलाई नै नयाँ जनमत आयो भनेर समर्थन गर्न सकिँदैन । किनभने नेपाली कांग्रेसका ६१ जना, माओवादी केन्द्रका ४९ जना र जनमोर्चा १ जनाबाहेक अरु मतहरू कुनै पार्टीले निर्णय गरेर देउवाजीलाई भोट हालेको अवस्था होइन । जसपाको कुरा गर्नुहुन्छ भने सिंगो पार्टीले संस्थागत निर्णय गरेर होइन, आफ्नो गुटले जनादेश विपरित हालेका मतहरू हुन् । बाँकी एमाले भनिएकाहरूले हालिएका २२ मतहरू पार्टीको टिकटमा चुनाव लडेर पार्टीलाई नै धोका दिएर, जनअभिमतलाई लत्याएर हालेका व्यक्तिगत मतहरू हुन् । के उनीहरूलाई जनताले संसदमा कांग्रेसलाई भोट हाल्न पठाएको हो र ? त्यस्ता मतहरूलाई कसरी जनादेश प्राप्त मतहरू भन्न सकिन्छ ? त्यसैले पार्टी निर्णय विनाका संसद भित्रका मतहरू भनेका अदालतका परमादेशलाई पुष्टि गर्ने नक्कली प्रमाण मात्र हुन् । तिनलाई जनादेश भन्न सकिँदैन ।’