
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समान ७ मन्त्रालय दिने सहमति गरेका छन् ।
कांग्रेसलाई ८ मन्त्रालय राखेर माओवादी केन्द्र र जसपालाई समान ७ मन्त्रालय दिने सहमति गरेको स्रोतको दाबी छ ।
माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले मन्त्रालय भागबण्डामा सहमति जुटेको लोकान्तरलाई जानकारी दिए ।
गठबन्धन निर्माणमा निर्णायक शक्ति रहेको भन्दै २० सांसद रहेको जसपाले ४७ सदस्यीय माओवादीसरह मन्त्रालय पाउने भएको छ ।
प्रतिनिधि सभामा कांग्रेसका ६१ सांसद छन् । कांग्रेसले ८ मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।
अर्थ र ऊर्जा मन्त्रालय माओवादीलाई दिएका प्रधानमन्त्री देउवाले गृह र सञ्चार मन्त्रालय कांग्रेससँगै राख्ने तयारी गरेको स्रोतले बतायो ।
नेकपा एमालेको माधव नेपाल समूहलाई समेत सरकारमा सहभागी गराउने भन्दै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा नजाने बताइसकेको छ ।
नेता नेपाल पक्षले सरकारमा सहभागी नहुने बताएपछि देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका हुन् । मन्त्री छान्नको लागि जसपा आन्तरिक छलफलमा छ ।
उपप्रधानमन्त्रीसहित उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना रहेको जसपा सरकारमा सहभागी हुने तयारी गरेको छ ।
माओवादी र जसपाले १/१ राज्यमन्त्री राख्न पाउने छन् । संविधानको व्यवस्था अनुसार मन्त्रिपरिषद्को व्यवस्था प्रधानमन्त्रीसहित २५ सदस्यीय मात्र हुनेछ । प्रधानमन्त्री देउवाले असार २९ गते पद तथा गोपनियताको शपथ लिएलगत्तै ४ जना मन्त्री नियुक्त गरेका थिए ।
पछि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर देउवाले मन्त्रिपरिषद् ६ सदस्यीय बनाएका छन् ।
माओवादी र जसपाले मन्त्रीहरूको नाम दिएपछि मन्त्रीहरूलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ ।
पार्टीको तर्फबाट मन्त्री छान्नको लागि कांग्रेस पदाधिकारीको बैठक बिहीवार बस्दैछ तर सम्भावित मन्त्रीहरूको सूची बनिसकेको कांग्रेस स्रोतले बतायो ।