
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि संक्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विगत १ हप्ताको तथ्यांक हेर्दा संक्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको हो ।
साउन ८ गते संक्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकोमा बिहीवार यो दर ९४.१ प्रतिशत पुगेको छ ।
साउन ८ गते १ हजार ६७८ जना संक्रमणमुक्त भई घर फर्किएका थिए । साउन ९ गते ९४.५ प्रतिशत अर्थात २ हजार १९७, साउन १० गते ९४.६ प्रतिशत अर्थात २ हजार ५०, साउन ११ गते ९४.५ प्रतिशत अर्थात १ हजार ६८५, साउन १२ गते ९४.४ प्रतिशत अर्थात १ हजार ७७८, साउन १३ गते ९४.३ प्रतिशत अर्थात १ हजार ९९३ र साउन १४ गते १ हजार ३७३ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।
जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले संक्रमित बढिरहेकाले संक्रमणमुक्त हुने दर घटेको बताए । उनले भने, ‘संक्रमित हुनेको संख्याको अनुपातमा संक्रमणमुक्त हुनेको संख्या कम देखिएकाले यो दर घटेको हो ।’
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या ७ लाख ५० हजार २२ पुगेको छ ।