
संसद्को सबभन्दा ठूलो दल नेकपा (एमाले)को आन्तरिक विवाद समाधान उन्मुख पुगेको दाबी एमाले पंक्तिमा भइरहे पनि यतिबेला भने विवाद थप अन्योलतातर्फ धकेलिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गरेर विवाद निरूपण गर्ने दोस्रो तहका नेताहरूको प्रयासले सार्थकता पाउन नसकिरहेका बेला दुई नेताहरूले आ–आफ्नो गुटको भेला र बैठक बोलाएका छन् ।
पार्टी अध्यक्ष ओलीले एमालेको विघटित विवाद समाधान कार्यदलका नेताहरूलाई शुक्रवारसम्मको समय दिएर विवाद समाधानको विकल्प ल्याउन भनेका थिए ।
सोही अनुरूप कार्यदलका नेताहरूले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गराउने प्रयास गरेका थिए । तर, त्यसले सार्थकता भने पाउन सकेन ।
एमाले महासचिव ईश्वर पोखरेलले पनि शुक्रवार साँझसम्ममा पार्टी विवाद समाधानका लागि नयाँ कुरा आउन सक्ने बताएका थिए ।
तत्काल विवाद समाधानतर्फ नजाने भएपछि पार्टी अध्यक्ष ओलीले स्थायी समितिको बैठक बोलाएका छन् ।
दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटीको बैठक बस्नु अघि ओलीले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
एमालेको काठमाडौं जिल्ला कमिटीले नयाँ वस्तीस्थित ड्रिम हाउस पार्टी प्यालेसमा पूर्ण बैठक बोलाएको छ । त्यही बैठकमा ओलीले अतिथिका रूपमा सम्बोधन गर्ने भएका छन् ।
यता माधव नेपाल पनि अखिल फोर्सको बृहत् भेलामा व्यस्त हुने भएका छन् । पार्टी अध्यक्ष ओली खेमाको युथ फोर्सलाई टक्कर दिने गरी नेपाल समूहले तयार पारेको अखिल फोर्सको भेला आज बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको छ । त्यसमा नेता नेपाल प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन् ।
एमालेको आन्तरिक विवाद समाधानको लागि भन्दै नेता सुवास नेम्वाङ र विष्णु पौडेलले नेता नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए । अध्यक्ष ओलीसँग छलफल गर्न उनीहरूले अनुरोध गरेको भए पनि नेपालले भने अस्वीकार गरेका छन् ।
एमालेको स्थायी कमिटीको बैठकअघि विघटित कार्यदलका दुवै पक्षका सदस्यहरूले भने आज दिउँसो सिंहदरबारमा अनौपचारिक रूपमा छलफल गर्ने भएका छन् ।
एमालेको कार्यदलमा ओलीका तर्फबाट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिजाल थिए भने नेपालतर्फबाट नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य थिए ।
दोस्रो तहका यी नेताहरू भने १० बुँदे सहमतिलाई आधार मानेर आन्तरिक विवाद समाधान गर्नुपर्ने बताउँदै आएका छन् ।
ओलीले पार्टी विवाद मिलाउन नेता नेपाललाई दोस्रो अध्यक्ष दिने बताएका थिए । जसका लागि कार्यदलका नेताहरूले ओलीलाई दबाब दिएरै सहमत गराएका थिए । तर, नेपालले दोस्रो अध्यक्ष नबन्ने जवाफ कार्यदलका नेताहरूलाई दिएका छन् । ओली खेमाका नेताहरूले भने नेता नेपाललाई कुनै हालतमा दोस्रो अध्यक्ष दिन नहुने बताउँदै आएका छन् ।
पार्टी महासचिव पोखरेलले शुक्रवार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै भनेका थिए, ‘माधव नेपाललाई दोस्रो अध्यक्षको रूपमा स्वीकार्न सकिँदैन । कोही व्यक्तिका कारण विवाद समाधानका लागि भनेर अनन्तकालसम्म पर्खिन पनि सकिँदैन । आज साँझ (शुक्रवार)सम्म केही नयाँ कुरा आउन सक्छ । नभए भोलि (शनिवार) बस्ने स्थायी कमिटी बैठकले निर्णय गरेर अगाडि बढ्छ ।’
महासचिव पोखरेलले भनेजस्तै ओलीले तीन वटा एजेण्डा राखेर आजका लागि स्थायी कमिटीको बैठक बोलाएका छन् ।