
मेलम्ची नदीमा आएको लेदो सहितको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा थप क्षति पुर्याएको छ । असार १ मा आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । त्यसको ४७ दिन पछि मेलम्ची नदीमा फेरि उस्तै प्रकृतिको बाढी आएको हो ।
शनिबार राती आएको बाढीले हेलम्बुस्थित चनौटेको रातो पुल पनि बाढीले बगाएको छ । उक्त पुल बगाएपछि चनौटे हुँदै जाने गणेशे बगर, किउल, तिम्बु, नाकोते, मेलम्चीघ्याङ सम्मको सडकसम्पर्क विच्छेद भएको छ ।
बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । बाढीका कारण मेलम्ची नदीले धार परिवर्तन गर्दा तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।
ग्यालथुममा रहेको एउटा झोलुंगे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
मेलम्ची नदीमा फेरि लेदो सहितको बहाव आएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हेलिकप्टर लिएर मेलम्ची नदीको माथिल्लो भूभाग अवलोकनमा गएका थिए ।
अवलोकनको क्रममा मेलम्ची नदीले असार १ को पहिरोमा थुप्रिएको माटो बगाएर ल्याउन थालेको देखिएको शेर्पाले बताए । उनै शेर्पाले हेलिकप्टरबाट भीमथाङमा गएको पहिरो र त्यसपछि उर्लिएको मेलम्चीको तस्वीर खिचेका छन् ।












