अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा अमेरिकी सेना पूरै हट्न लागेपछि रुस र चीनका सैनिकहरूले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।
दुवै देशका गरी १० हजार जवान अगस्ट महिनाको मध्यमा विशाल युद्धाभ्यास गर्दैछन् ।
चीन र रुसका रक्षा मन्त्रालयहरूले संयुक्त बयान जारी गरेर वेस्ट इन्टरयाक्सन २०२१ नामक महायुद्धाभ्यास गर्ने जनाएका छन् । उक्त युद्धाभ्यास चीनको छिआङटोङसिया शहरमा आयोजना गरिनेछ ।
युद्धाभ्यासमा विभिन्न किसिमका युद्धविमान, तोप र हतियारले सुसज्जित वाहन पनि सहभागी गराइनेछन् ।
दुवै देशका सैनिकहरूलाई मिसाएर समान लक्ष्यका विरुद्ध भविष्यमा आवश्यक परेमा सँगै युद्धमा पठाइन पनि सक्ने योजना छ । दुवै पक्षले मिलेर आफ्नो बेग्लाबेग्लै टीम बनाउने र ती टीमले योजना बनाएर तालिम लिने पनि बताइएको छ ।
अमेरिका गएपछि अफगानिस्तानमा तालिबानले पकड कस्दै गएपछि क्षेत्रीय अशान्ति फैलिने डरले गर्दा चीन र रुस सँगै आएका हुन् ।
दुई देशबीचको युद्धाभ्यासबाट सेनाको निगरानी क्षमता, खोजतलाश, शीघ्र चेतावनी, विद्युतीय सूचना आक्रमण र संयुक्त आक्रमणको क्षमता बढ्ने विश्वास गरिएको छ । यस अभ्यासको उद्देश्य राजनीतिक र रणनीतिक दुवै भएको बताइएको छ ।