
देशभर मनसुनी वायुको प्रभाव तीव्र बन्दा गएराति देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य क्षेत्रको तुलनामा गएराति बागमती र लुम्बिनी प्रदेशमा बढी पानी परेको हो । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेकाले वर्षाको गतिविधि थप बढ्ने देखिएको छ।
महाशाखाले आज देशका सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो देशका अधिकांश स्थानमा पूर्ण बदली (बादल लाग्ने) हुनेछ। पहाडी भूभागका धेरै स्थान र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, तराई भूभागका बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँ तथा मधेश र कोशीका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान गरिएको छ।
आज राति भने देशका विभिन्न क्षेत्रमा मुसलधारे र ठुलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमको पहाडी क्षेत्रका केही स्थानमा मध्यमसम्मको वर्षा हुनेछ।
यस्तै कोशी, बागमती र गण्डकीको हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी (मुसलधारे) वर्षाको सम्भावना छ।
तराईका धेरैजसो स्थानमा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने मधेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार आजदेखि आइतबारसम्म पश्चिम नेपालमा भारी वर्षाको उच्च सम्भावना देखिएको छ।
मौसम मापन गर्ने दुईवटा फरक–फरक प्रविधिले भारी वर्षा हुने विशिष्ट स्थान र पानीको मात्रा फरक–फरक देखाएको भए पनि वर्षाको जोखिम भने उच्च रहेको उनको भनाइ छ ।
ठुलो पानी पर्ने क्षेत्रहरूमा बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले नदी तटीय क्षेत्र तथा कमजोर भूभागका बासिन्दालाई आवश्यक पूर्वतयारी अपनाउन विभाग र मौसमविद्हरूले जोड दिएका छन्।