२५ असार २०८३, बिहीबार

साउन २३ भित्र पार्टी सदस्यता नवीकरण र असोज ९ भित्र स्थानीय तहको अधिवेशन सक्ने एमालेको निर्णय

साउन २३ भित्र पार्टी सदस्यता नवीकरण र असोज ९ भित्र स्थानीय तहको अधिवेशन सक्ने एमालेको निर्णय

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरुमा वडा अधिवेशन र असोज ९ गतेभित्र सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।

आज ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको एमालेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले महासचिव ईश्वर पोखरेलले अधिवेशन सम्बन्धी उक्त प्रस्तावलाई अन्तिम रूप दिन साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाइएको बताए । 

एमालेले साउन २३ गतेभित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, एमालेले भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेको स्थायी कमिटीको बैठकले विधान महाधिवेशन आयोजना गर्नको लागि चार वटा कार्यदल बनाउने निर्णय गरेको छ । 

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा कार्यदल बनाएको छ ।  त्यसैगरी, सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको ज्ञवालीले जानकारी दिए । 

त्यसैगरी, एमालेको स्थायी कमिटी बैठकले दार्चुलाका तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाएर जयसिंह धामीलाई उर्लिंदो भेलमा बेपत्ता पार्ने अमानवीय र क्रूर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको ज्ञवालीले बताए । 

‘उक्त विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न, दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ’, प्रवक्ता ज्ञवालीले भने । 

salt training

कमेन्ट गर्नुहोस्