काठमाडौं २८ जेठ– राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको चुनाव अगावै संविधान संशोधन लगायतका माग सम्वोधन गरिए मात्र असार १४ गतेको चुनावमा सहभागि हुने अडान राखेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतवार झण्डै तीन घण्टा चलेको छलफलमा राजपा नेताहरुले आफूहरु चुनावको मिति सार्ने पक्षमा मात्र नभएको बताएका हुन् ।
‘हामी चुनाव बहिष्कार गर्ने पार्टी होइनाैं, चुनावमा सहभागी हुन चाहान्छौं, त्यसका लागि वातावरण बनाउन माग गरेका हौं’ राजपाका नेता अनिल झाले बैठकपछि लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीज्यूले हुन्छ हुन्छ, म मिलाउछु भन्नुभयो ।’ चुनाव सार्न प्रस्ताव गर्नु भएको हो भन्ने सवालमा नेता झाले भने, ‘चुनावको मिति सारेर मात्र समस्या समाधान हुन्न, हाम्रा माग पूरा नभएसम्म जतिपल्ट चुनाव सारेपनि निकास निक्किदैन ।’
राजपाले संविधान संशोधन, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थपगर्नुपर्ने लगायत माग सम्वोधन नभएसम्म चुनाव हुन नसक्ने बताएको थियो । सरकारसँगको वार्तापछि राजपाको बैठक बस्दैछ ।
आइतवारको वार्तामा सरकारले निर्वाचन पछि संशोधन विधेयक पारित गर्ने आश्वासन दिएको थियो ।