अफगानिस्तानमा तालिबानले देशभरि आक्रमणको सिलसिला बढाएको छ ।
उसले प्रमुख शहरहरू र एक महत्त्वपूर्ण विमानस्थललाई तारो बनाइरहेको छ । अफगान सरकार तालिबानविरुद्ध संघर्षरत छ ।
पश्चिममा रहेको शहर हेरातमा सयौं कमान्डोहरू परिचालन गरिएको छ भने दक्षिणी शहर लश्कर गाहमा तालिबानको आक्रमण रोक्नका लागि थप सैनिक बोलाइएको छ ।
गत मे महिनाको पहिलो साताबाट देशभरि भिडन्त भइरहेको छ । त्यसबेलाबाट अमेरिकी नेतृत्वको विदेशी सेनाले अफगानिस्तानबाट फर्किने काम शुरू गरेकोमा अहिले अन्तिम चरण पुगेको छ ।
ग्रामीण भेगको विशाल क्षेत्र तथा महत्त्वपूर्ण सीमानाकामा कब्जा गरेको तालिबानले प्रान्तीय राजधानीहरूमा भयानक आक्रमण गरिरहेको छ ।
अफगानिस्तानको दोस्रो सबभन्दा ठूलो शहर कन्दहारमा लडाइँका कारण विमानहरूको उडान रद्द गरिएको छ ।
विमानस्थल प्रमुख मसूद पश्तुनका अनुसार, दुईवटा रकेटले धावनमार्गमा क्षति गरेकाले मर्मत गरिँदैछ ।
तालिबानलाई उक्त शहर कब्जा गर्न नदिनका लागि बन्दोबस्तीको सामान तथा हवाई समर्थन दिन यो विमानस्थल महत्त्वपूर्ण छ ।
तालिबानले हेल्मान्ड प्रान्तको राजधानी लश्कर गाहलाई पनि कब्जा गर्न लागेको छ ।