
सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन सत्तारुढ दलका दोस्रो तहका नेताहरू रहेको कार्यदलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको बैठकले सरकारका प्राथमिकता र कामको खाका बनाउने छ ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट दुई–दुई जना सदस्य छन् ।
कार्यदलमा सहमति भएपछि सत्तारुढ दलका प्रमुख नेताहरूले सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । यसै वर्षको अन्त्यसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने, कोरोना महामारीका कारण शिथिल बनेको अर्थतन्त्र उकास्ने र चुनाव गर्ने कुरालाई महत्त्व दिएर कार्यक्रम बनाउँदै गरिएको कार्यदलका एक सदस्यले बताए ।
कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादीको तर्फबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महिन्द्रराय यादव सदस्य छन् ।
असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिए पनि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।