
दार्चुला व्यास गाउँपालिका-२, मालका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिनका लागि टोली दार्चुला हिँडेको छ । भारतीय सुरक्षा बल एसएसबीले तुइन काट्दा बेपत्ता भएको भन्दै अनुसन्धानका लागि गठित छानबिन टोली काठमाडौंबाट प्रस्थान गरेको हो ।
घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् । १० दिन भित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न समितिलाई समय तोकिएको छ।
छानबिन टोली भोलि (मंगलबार) घटनास्थल पुग्ने बताइएको छ । गृहमन्त्री बालकृष्ण खाणका अनुसार घटना भएकाले बेला महाकाली पारि पुगेका चार जना र तर्न बाँकी रहेकाहरूसँग सोधपुछ भइरहेको बताए ।