
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको छानबिन गरी दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।
अखिल क्रान्तिकारीले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको वास्तविकता छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको हो ।
पटक–पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुर्व्यवहार गरेकाले भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।
उनले नेपाल र नेपाली जनताको रक्षाको लागि सरकारलाई ध्यानाकर्षण गराउनुका साथै गम्भीर बन्न पनि अपिल गरे ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले सीमा अतिक्रमण बन्द गर, जयसिंह धामी बेपत्ताको छानबिन गर, सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, लिपुलेक लिम्पियाधुरा, कालापानी हाम्रै हो, भारतीय विस्तारवाद मुर्दावादलगायतका नाराबाजीसमेत गरेका थिए ।