२३ असार २०८३, मंगलबार

शशांकसँग पौडेल पक्षका युवा नेताको भेट : सरकारमा सम्मानजनक सहभागिता होस्

शशांकसँग पौडेल पक्षका युवा नेताको भेट : सरकारमा सम्मानजनक सहभागिता होस्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका युवा केन्द्रीय सदस्यहरूले आज महामन्त्री शशांक कोइरालासँग छलफल गरेका छन् । 

छलफलमा युवा नेताहरूले सरकारमा सम्मानजनक सहभागिता हुनुपर्ने सुझाव दिएका छन् । ‘सम्मानजनक सहभागिता भएन भने सभापतिलाई एक्लै मन्त्रिमण्डल चलाउन दिनुपर्छ,’ छलफलमा सहभागी नेता गुरु घिमिरेले भने, ‘पार्टीभित्रको एउटा महत्त्वपूर्ण पंक्तिलाई छुटाइएको छ।’ 

कांग्रेसको नेतृत्वमा सरकार बन्नुको मुख्य जग नै रामचन्द्र पाैडेल भएकाले सरकारमा सम्माजनक सहभागिता हुनुपर्ने छलफलमा सहभागी नेताहरूले धारणा राखेका थिए । 

यस्तै युवा नेताहरूले पौडेल पक्षबाट सभापतिको उम्मेदवार सहमतिबाट एक जना हुनुपर्ने सुझाव दिएका छन् । त्यसका लागि आफूहरूले आवश्यक दबाब पनि दिने घिमिरेको भनाइ छ । उनका अनुसार महाधिवेशन तोकिएकै मितिमा सुनिश्चित गरिनुपर्ने, महाधिवेशन शुरू भइसकेपछि वडा, पालिका, क्षेत्रलगायत तहमा निरन्तर हुनुपर्ने लगायतको सुझाव महामन्त्री कोइरालालाई दिइएको छ । 

छलफलमा क्रियाशील सदस्यता छानबिनको विषय पनि उठाइएको थियो । नेता कल्याण गुरुङले एक लाख बढी फर्जी सदस्यता नवीकरण गरिएको छलफलमा बताए । उनले छानबिन समितिले पनि कागजात नहेरी उजुरीका आधारमा मात्रै छानबिन गरेको, नवीकरणमा संस्थागत धाँधली भएको आरोप लगाए । गुरुङले तलबाट आएका क्रियाशील सदस्यको नाम र केन्द्रले प्रकाशित गर्ने सूचीका बीचमा रुजु गर्नुपर्ने र सदस्यताका विषयमा पुनरवलोकन गर्नुपर्ने धारणा राखेका थिए । 

छलफलमा युवा केन्द्रीय सदस्यहरू दीपक गिरी, कमला पन्त, रत्ना शेरचन, धनराज गुरुङ, सरिता प्रसाई, बद्रि पाण्डे, किरण यादव, कल्याण गुरुङ, प्रदीप पौडेल, गगन थापा र गुरु घिमिरेको सहभागिता थियो । 

salt training

कमेन्ट गर्नुहोस्