
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डलरमा खरिद गर्नुपर्ने एल्पी ग्यास विस्थापित गरी विद्युत् खपत गर्ने अभियानमा सघाउन अपिल गरेकी छन् । ललितपुर महानगरपालिका–३ मा आज आयोजित विद्युतीय गाडी र विवेकशील बत्ती शुभारम्भ गर्ने कार्यक्रममा उनले ललितपुरका जनतालाई विद्युतीय सामग्री प्रयोग गर्न आग्रह गरिन् ।
भान्सादेखि सवारीसाधनसम्म विद्युतीय ऊर्जा प्रयोग गर्न अपिल गर्दै मन्त्री भुसालले भनिन्, “हाम्रो देशको पैसा हाम्रै देशमा खर्च गर्न लागौँ । त्यसले मात्रै व्यापारघाटा कम गर्न सहयोग गर्छ ।” आफूले आधारभूत जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने नीति ल्याउन लागेको उनले जानकारी दिइन् ।
कार्यक्रममा वडाध्यक्ष श्रीगोपाल महर्जनले स्वास्थ्य चौकी व्यवस्थित गरेको, वडावासीका लागि निःशुल्क विद्युतीय गाडीको सेवा उपलब्ध गराएको र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराएको बताए ।