
मौलिक जरोकिलो पार्टीको विशिष्टीकृत संघ अखिल नेपाली युवा संघले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई नेपाली क्रिकेट क्षेत्रमा पुर्याउनुभएको योगदानको लागि हार्दिक धन्यवाद ज्ञापन एवं अभिनन्दन गरेको छ ।
अन्तरराष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेपछि पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट क्षेत्रलाई अन्तरराष्ट्रिय क्षेत्रमा समेत क्रिकेटको उदाउँदो शक्ति बनाउन खड्काले ठुलो योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
अत्यन्त सिमित स्रोत साधनका बाबजुद नेपाली राष्ट्रिय क्रिकेट टिमले उत्साहजनक खेल प्रदर्शन गर्दै यो स्तरको अन्तरराष्ट्रिय ख्याति कमाउनु निकै ठुलो उपलब्धि भएको संघको ठहर छ । खेल क्षेत्रबाट ख्याति कमाएर कुटनीतिक क्षेत्रमा नेपालको सफ्ट पावर वृद्धि गर्न सकिने संघको विश्वास रहेको बताएको छ ।
नेपालका मौलिक खेलहरूको संरक्षण, प्रवर्धन र विकासका साथसाथै अन्य खेलहरूमा आवश्यक पर्ने पूर्वाधार र खेलाडीले पाउनुपर्ने सुविधाको विषयमा राज्यले पर्याप्त ध्यान दिएको छैन । नेपाली युवा तथा खेलाडीहरूमा क्षमता रहेपनि खेलको माध्यमबाट जीविकोपार्जन गर्न सकिने वातावरण सृजना नगर्दासम्म नेपालको खेल क्षेत्र अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको संघको ठहर छ ।
पूर्वकप्तान पारस खड्का लगायत खेल क्षेत्रमा ठुलो योगदान पुर्याएका खेलाडीहरूलाई यथोचित सम्मान तथा सहज जीवनयापनको सुविधाको व्यवस्था गरेर अन्य युवा तथा खेलाडीहरूको मनोबल बढाउन सरकारसंग अखिल नेपाली युवा संघले जोडदार माग गरेको छ ।