नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पूर्ववर्ती केपी शर्मा ओली सरकारले गरेका जनविरोधी निर्णय उल्ट्याउनुपर्ने बताएकी छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा झाँक्रीले वर्तमान सरकार सामु संविधानलाई ट्रयाकमा राख्न मात्र नभई पूर्ववर्ती सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्ने दायित्व रहेको बताएकी हुन् ।
‘सर्वोच्च अदालतको फैसला र हाम्रो संघर्षले प्रतिनिधि सभा पुनःस्थापना भएको छ र वैकल्पिक सरकार गठन भएको छ । सरकारले संविधानलाई ट्रयाकमा राख्ने मात्र होइन पूर्ववर्ती सरकारले गरेका जनविरोधी निर्णय उल्ट्याउनु पर्छ । झापाको गिरीबन्धु टी स्टेटले हदबन्दी भन्दा धेरै राखेको जग्गा बिक्री गर्न दिने पूर्ववर्ती सरकारको निर्णय खारेज गर्नुपर्छ,’ उनले भनिन् ।
झाँक्रीले दार्चुला घटना स्मरण गर्दै तुइनको युग सिद्धियो भन्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दाबी गलत भएको बताइन् ।
प्रतिनिधिसभामा नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरूले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका थिए ।
सांसद मेटमणि चौधरीले संविधान जोगाउन सर्वोच्चले गरेको फैसलाले आगामी दिनमा कुनै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने जोखिम सकिएको दाबी गरे ।