
जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्डविपरीतका गतिविधि नगर्न र नगराउन सूचित गरेको छ ।
प्रशासनले आज अत्यन्त जरुरी सूचना जारी गर्दै स्वास्थ्य मापदण्डविपरीतका गतिविधिले कोभिड–१९ को संक्रमणदर उच्च भएर तेस्रो लहर आउन सक्ने देखिएकाले सचेत रहन भनेको हो ।
पछिल्लो केही दिनदेखि कोरोनाको संक्रमण दर उच्च हुँदै गएको, अस्पतालहरूमा भेन्टिलेटर, आईसीयू र आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको सूचनामा उल्लेख छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको, मास्कको उचित प्रयोग नभएको, तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएकाले संक्रमणको जोखिम बढेको प्रशासनले जनाएको छ ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । स्वास्थ्य मापदण्डको उल्लघंन हुने गतिविधि गरे कानूनअनुसार कडा कारवाही गरिने सूचनामा भनिएको छ ।