
दक्षिण चीन सागरमा पालन गर्नुपर्ने आचारसंहिताको पाठको एक अंशमा चीन र आसियान मुलुकहरूबीच सहमति बनेको छ ।
मंगलवार आसियानका १० मुलुकका समकक्षीसँग भर्चुअल सम्मेलनमा बोल्दै चीनका परराष्ट्रमन्त्री वाङ यीले अमेरिका यस क्षेत्रको सबभन्दा ठूलो समस्यादायक भएको बताए । उनले दक्षिण चीन सागरमा बाह्य हस्तक्षेप अस्वीकार्य रहेको पनि बताएका छन् ।
संसारको कुल कारोबारको एक तिहाइ दक्षिण चीन सागर भएर जान्छ र त्यस क्षेत्रमा धेरै मुलुकहरूले दाबी गरिरहेका छन् ।
आचारसंहिताको प्राक्कथनका विषयमा सहमति सहित अन्य विषयमा सम्झौताका पुनः शुरू गरेर महामारी वा बाहिरी हस्तक्षेप कुनै पनि कठिनाइले आफूहरूलाई नरोक्ने वाङले बताए ।
वाङले दक्षिण चीन सागरमा बेइजिङले थप दाबी नगर्ने बताए । यस जलक्षेत्रमा तनाव बढाउनका लागि चीनले कुनै पनि एकपक्षीय कदम नचाल्ने प्रतिज्ञा पनि उनले गरे ।
‘दक्षिण चीन सागर महाशक्ति प्रतिस्पर्धाको थलो हैन र बन्नु पनि हुँदैन । हामीले उनीहरूलाई यस क्षेत्रको शान्ति र स्थिरतालाई अवमूल्यन गर्ने अनुमति दिन सक्दैनौं ।’
निकट छिमेकी भएका नाताले चीन आसियान मुलुकहरूसँग कोभिड महामारीका विरुद्ध लड्न प्रतिबद्ध रहेको वाङले बताए । चीनले अहिलेसम्म उक्त क्षेत्रमा १९ करोड खोपको डोज पठाइसकेको छ ।
चीन र अमेरिकाबीचको रणनीतिक प्रतिस्पर्धाको एक क्षेत्रका रूपमा दक्षिणपूर्व एसिया उदाएको छ । दुवै पक्षले त्यस क्षेत्रका अन्य देशहरूसँगको सम्पर्क बढाउँदै लगेका छन् ।