आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीवारदेखि बन्द प्रशिक्षण शुरू गरेको छ ।
आगामी सेप्टेम्बरमा ओमनमा हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ ।
टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरू भएको क्यानले जनाएको छ ।
क्यानले बोलाएका १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका हुन् । नेपाल पुलिस क्लबका खेलाडी गुलशनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । लिग–२ मा नेपालले अहिलेसम्म ४ खेल खेलेको छ । त्यसमा नेपालले २ खेलमा जीत तथा २ खेलमा हार व्यहोरेको छ ।
नेपाल ४ अंक जोड्दै छैटौं स्थानमा छ ।
१० खेल खेलेको ओमान १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । बाह्र खेलमा १२ अंक बटुलेको अमेरिका दोस्रो स्थानमा छ ।
बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् ।
त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।