
नेकपा एमालेको माधव नेपाल पक्षले एकताको प्रक्रिया नटुंगिँदासम्म अधिवेशन लगायतका पार्टी गतिविधि अगाडि नबढाउन संस्थापन पक्षलाई आग्रह गरेको छ ।
बुद्धनगरस्थित क्वालिटी ब्याङ्केटमा बिहीवार बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै स्थायी कमिटी सदस्य रघुजी पन्तले जेठ २ कै कमिटीको बेठक बसेर पार्टी एकता प्रक्रियालाई अन्तिम रूप नदिएसम्म अधिवेशन लगायतका गतिविधि अगाडि नबढाउन कार्यदलका सदस्य र महासचिवलाई पनि आग्रह गरिसकिएको जानकारी दिए ।
'अधिवेशनलगायत सबै कुरा एकता प्रक्रिया टुंगिएपछि मात्र गर्न कार्यदल सदस्य तथा पार्टी महासचिवलाई पनि भनिएको छ,' पन्तले भने, 'उहाँहरूबाट सकारात्मक प्रतिक्रिया आउँछ भन्ने अपेक्षा छ ।'
बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताकै पक्षमा रहेको, तर एकता सम्मानजनक हुनुपर्ने धारणा राखे ।
सम्मानविनाको एकता राजनीतिक आत्महत्यासरह हुने उनको भनाइ थियो ।
‘१० बुँदे सहमतिको यथास्थितिकै अवस्थामा एकता–एकता भनेर हिँड्नु भएन । सम्मानजनक हैसियतमा मात्रै एकता गर्नुपर्छ । सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा केपी ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुनेछ,’ नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामीले सम्मानजनक हैसियतविना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन । म एकताकै पक्षमा छु ।’
नेता नेपालले सम्मानविनाको एकताले निम्त्याउने दुष्परिणामको भागिदार आफू बन्नुपर्ने बुझ्न सदस्यहरूलाई आग्रह गरे ।
‘एकता गर्ने कुरामा कहिल्यै बिमति हुँदैन, तर सम्मानजनक हैसियतविनाको एकता भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ । त्यसकारण एकता गर्ने कुरामा सोचविचार गरेर नै एकता गर्ने पक्षमा रहेको छु,’ नेपालले भने ।
नेता नेपालले अध्यक्ष केपी ओलीका पछिल्ला अभिव्यक्ति एकता गर्नेभन्दा पनि एकताको माहोलबाट डिरेल गर्ने उद्देश्यका साथ आएको आरोप लगाए ।
‘साथीहरू एकताको प्रयासमा हुनुहुन्छ । केपी ओलीकै मान्छेबाट पनि प्रयास भइरहेको छ । उनीहरूले ओलीको एकलकाटे कुरा गरिरहेका छन्,’ नेता नेपालले भने ।
बैठकमा नेता नेपालले सबै नेपालीलाई कोरोनाको खोप व्यवस्था गर्न, बाढीपहिरो पीडितलाई उद्धार र राहत तत्काल उपलब्ध गराउन र दार्चुला घटनाको सम्बन्धमा यथार्थ जानकारी गराई भारतसँग कुरा उठाउन र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह समेत गरेको नेता पन्तले जानकारी दिए ।
बैठकमा नेपाल पक्षबाट कार्यदल संयोजक रहेका नेता भीम रावलले १० बुँदे सहमतिको अन्तरवस्तुबारे बुँदागत ब्रिफिङ गरेका थिए ।
त्यसपछि केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।
बिहीवार विजय पौडेल, झपट रावल, अरुण नेपाल, चुडामणि जंगली, ठाकुर गैरे लगायतले बोलेको र बैठक भोलि पुन: बस्ने गरी सकिएको नेता पन्तले जानकारी दिए ।