बार्सिलोना क्लबका सुपरस्टार खेलाडी लियोनल मेसी अब क्लबमा नबस्ने भनी बिहीवार क्लबले घोषणा गरेपछि फूटबल जगत् स्तब्ध भएको छ ।
यस क्लबमा किशोर अवस्थामा प्रवेश गरेर अहिलेसम्म ६७२ गोल गरेका तथा अनेकौं ट्रफी जिताएका मेसी फूटबलका महानतम खेलाडीमध्ये एक हुन् ।
अघिल्लो महिना मात्र स्पेनका फूटबल पत्रकार गिलेम बालागले सन् २०२६ सम्मका लागि मेसीले सम्झौता गरिसकेको र खाइपाइ आएको तलबको आधा लिन स्वीकार गरेको खबर दिएका थिए ।
तैपनि मेसीको तलब निकै चर्को हुनाले बार्साले त्यसका लागि खेलाडीहरू बेच्नुपर्ने थियो । ला लिगाको फाइनान्सियल फेयर प्ले अनुकूल हुनका लागि क्लबले खेलाडी बेच्नुपर्ने आवश्यकता थियो । एन्टोइन ग्रीजम्यान, उस्मान डेम्बेले र फिलिप्पे कउटिन्होलाई बेच्ने सोच क्लबले बनाएको छ ।
क्लब अहिले ऋणमा चुर्लुम्म डुबेको छ । एक अर्ब युरोभन्दा बढी ऋण बार्साले काढेको छ ।
ऋणमा डुबेको क्लबले मेसीको तलबका लागि मोटो रकम छुट्ट्याउन फाइनान्सियल फेयर प्लेले दिँदैन ।
मेसीलाई कम तलब लिएर भए पनि आफ्नो प्यारो क्लबमै बस्न मन लागेको छ तर फाइनान्सियल फेयर प्ले नियमावलिले सम्झौतालाई अन्तिम रूप दिन दिएको छैन ।
खेल पत्रकार एन्डी वेस्टका अनुसार, बार्साले घोषणा गरेको भए पनि मेसीले क्लब छोडिसकेका हैनन् ।
खासमा यो बार्सिलोना क्लबले ला लिगासँगको शक्तिप्रदर्शनमा चालेको चलाख तथा जोखिमपूर्ण चाल हो ।
ला लिगाले खेलाडीको तलबका विषयमा निर्धारण गरेको सीमाका कारण मेसी र बार्साले नयाँ सम्झौतामा हस्ताक्षर गर्न नपाएका हुन् ।
कमजोर आर्थिक अवस्थामा रहेको बार्साले टन्न पैसा कमाउने युरोपीयन सुपर लीग बनाउन खोजेको भए पनि यूईएफएले त्यसो गर्न दिएन । तर क्लबका अध्यक्ष जोआन लापोर्ता र रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्तिनो पेरेज अझै पनि युरोपीयन सुपर लीगको परियोजनामा प्रतिबद्ध छन् ।
ला लिगाले हालै मात्र लगानी संस्था सीभीसीसँगको सम्झौताको घोषणा गरेको छ । त्यस सम्झौतालगत्तै बार्साले १६ करोड युरो पाउँछ । त्यति रकम मेसीलाई क्लबमा राखिरहनका लागि पर्याप्त हुन्छ ।
तर त्यो रकम पाउनका लागि क्लबले ला लिगासँग दीर्घकालीन प्रतिबद्धता व्यक्त गर्नुपर्ने हुन्छ अनि सुपर लीगलाई पूरै परित्याग गर्नुपर्ने हुन्छ ।
ला लिगालाई जीवन्त बनाएकै मेसीले हो । मेसीविनाको ला लिगा हेर्न दर्शकहरू इच्छुक छैन । अझ मेसी र रोनाल्डोको प्रतिस्पर्धाले ला लिगालाई आकर्षक बनाएको थियो । तर तीन वर्षअघि रोनाल्डो इटली गए । तैपनि मेसी भएकाले ला लिगा हेर्न रमाइलो मानिरहेका छन् दर्शकले ।
त्यसैले बार्सिलोना क्लबका अध्यक्ष लापोर्ताले मेसी अब क्लबबाट मुक्त रहेको घोषणा गरेर ला लिगामाथि दबाब दिन खोजेका छन् । मेसी विनाको ला लिगा कस्तो हुन्छ कल्पना गर्नू अनि त्यही अनुसारको सहज वातावरण बनाउनू भनेर लापोर्ताले ला लिगा अध्यक्ष हाभिएर तेभासलाई खुलमखुला चुनौती दिएका छन् ।
लापोर्ताले बार्साको अध्यक्षका लागि भएको चुनाव नै मेसीलाई क्लबमा राखिरहन्छु भनेर जितेका हुन् । त्यसैले उनको यस कार्यकालको मुख्य उद्देश्य नै मेसीलाई अझै कम्तीमा पाँच वर्षसम्म क्लबमा राख्नु हो ।
यस्तो अवस्थामा उनले मेसीलाई यसरी सजिलै जान दिने घोषणा गरेर ला लिगामाथि दबाब दिन कोशिश गरेको हो भनी बुझ्न सकिन्छ ।
त्यसो त मेसीलाई बार्सिलोनाका सहखेलाडीहरू चित्त नबुझिरहेको भनी स्पेनी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । विशेषगरी आफ्ना निकटतम मित्र लुइस स्वारेज एट्लेटिको मड्रिड गएपछि मेसीलाई बार्सामा बस्न खासै मन छैन । अनि प्रशिक्षक रोनाल्ड कोम्यानसँग पनि मेसीको आत्मीय सम्बन्ध छैन ।
कथंकदाचित् ला लिगा झुकेनछ र मेसीले बार्सिलोना छाड्ने नै भएछन् भने उनी कहाँ जालान् त ?
एक वर्षअघि मेसीले बार्सिलोना छोड्नका लागि आफ्नो सम्झौतामा भएको एक दफालाई उपयोग गरी निःशुल्क ट्रान्सफरका लागि कोशिश गरेका थिए । तर बार्साले त्यतिखेर मेसीलाई किन्ने क्लबले ७० करोड युरो तिर्नुपर्ने शर्त राखेको थियो । आफ्नो प्यारो क्लबसँग कानूनी मुद्दा लड्नु ठीक हुन्न भनी मेसी एक वर्षका लागि क्लबमै बसिरहे ।
अहिले त त्यस सम्झौताको मिति गुज्रिसकेको छ र मेसी फ्री एजेन्ट बनिसकेका छन् ।
यस्तो अवस्थामा उनलाई किन्न अन्य क्लबलाई धेरै महंगो पर्ने छैन ।
उनी बार्साका पूर्व व्यवस्थापक तथा म्यानचेस्टर सिटीका बहालवाला व्यवस्थापक पेप ग्वार्डिओलासँग पुनर्मिलन गर्न जाने अनुमान पनि छ ।
तर सिटीले यसै साता एस्टन भिल्लाबाट ज्याक ग्रीलिशलाई कीर्तिमान १० करोड पाउन्ड तिरेर भित्र्याइसकेको छ । अनि उसले टोटनहमका स्ट्राइकर ह्यारी केन पनि ल्याउने कोशिश गरिरहेको छ । त्यसैले मेसीलाई किन्न सक्ने सामर्थ्य सिटीले गुमाइसकेको फूटबल विश्लेषक गिलेम बालागको धारणा छ ।
सिटी नभई पेरिस सेन्ट–जर्मेनमा मेसी जाने सम्भावना रहेको बालागको भनाइ छ ।
फ्रान्सेली फूटबलविद् जुलियन लरेन्सले यो प्रकरण बार्साले ला लिगालाई दबाब दिन चालेको चाल हो भनेका छन् ।
तर कुरा नमिलेर मेसीले साँच्चै बार्सिलोना छाडे भने आफूहरूसँग उनलाई भित्र्याउन प्रशस्त पैसा रहेको पीएसजीले दाबी गरेको लरेन्स बताउँछन् ।
लरेन्सका अनुसार, अन्ततोगत्वा मेसी बार्सिलोनामै बस्नेछन् । तर पीएसजीले मेसीलाई फकाउन सकिन्छ कि भनी लगातार कोशिश गरिरहनेछ ।