
सत्तारुढ गठबन्धनले परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्न प्रयास गर्ने भएको छ ।
छिमेकी मुलुकहरूसँगको सामाजिक आर्थिक सम्बन्धलाई विशेष महत्त्व दिने सत्ता गठबन्धनको नीति छ ।
सरकार सञ्चालनका लागि तयार गरिएको न्यूनतम साझा कार्यक्रममा परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने उल्लेख छ । कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाएको छ ।
‘परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने’ अन्तराष्ट्रिय सम्बन्ध उपशीर्षकको पाँचौ नम्बर बुँदामा उल्लेख छ ।
‘देशको राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितलाई विश्व समुदायका बीचमा स्थापित गर्नु, भूपरिवेष्ठित देशको अधिकार, ठूला र साना देशहरूबीच पूर्ण समानाधिकार तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने’ कार्यदलको प्रस्तावमा भनिएको छ ।