
फ्रान्सेली फूटबल क्लब पेरिस सेन्ट–जर्मेनले लियोनल मेसीलाई एक हप्ताभित्र भित्र्याउने आत्मविश्वास देखाएको खबर बेलायतको द गार्डियन पत्रिकाले दिएको छ ।
यो मेसीले क्लब छाड्न लागेको भनी बार्सिलोना क्लबले बिहीवार राति घोषणा गरेपछि विकसित घटना हो । आर्थिक परिबन्दका कारण क्लबले मेसीसँग नयाँ सम्झौता गर्न पाएको छैन ।
पीएसजीलाई मेसीसँग सम्झौता गर्नु असम्भव रहेको जस्तो लागेको थियो तर मेसीले क्लबका प्रमुख प्रशिक्षक माउरिसियो पोचेट्टिनोलाई सम्पर्क गरेपछि पासा पल्टेको छ ।
रातारात पीएसजीले हिसाबकिताब गरेर मेसीलाई भित्र्याउँदा फाइनान्सियल फेयर प्लेको नियम उल्लंघन नहुने निश्चित गरेको हो ।
मेसी र पोचेट्टिनो दुवैजना अर्जेन्टिनाका हुन् र उनीहरूबीच राम्रो सम्बन्ध छ । अनि मेसी अहिले फ्री एजेन्ट भएकाले पनि पीएसजीलाई सहज बनेको हो ।
आफूले मेसीलाई भित्र्याएमा नेयमारसँग मिलेर उनले युरोप तथा दक्षिण अमेरिकामा व्यापारिक फाइदा हुने पीएसजीको आकलन छ ।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्ताले मेसीलाई क्लबमा राखिरहँदा अर्को ५० वर्षका लागि जोखिम हुने शुक्रवार बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘क्लबको इतिहास १०० वर्षभन्दा लामो छ र यो कुनै पनि खेलाडीभन्दा माथि छ चाहे त्यो खेलाडी सर्वकालीन महान् नै किन नहोस् । बार्सा खेलाडी, व्यवस्थापक र अध्यक्षहरूभन्दा सधैं माथि छ ।’