
राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएकी छन् ।
नेपाल चिकित्सक संघले शुक्रवार राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यन्वयन गरी सबै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताइन् ।
चिकित्सा शिक्षालाई सर्वसुलभ बनाई नागरिकको पहुँचभित्र पुर्याउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले सबै नागरिक समक्ष स्वास्थ्य सेवाको पहुँच पुर्याउन राज्यको दायित्व रहेको बताइन् ।
कोभिड–१९ संक्रमणको महामारीको रोकथाम र नियन्त्रणका गर्दैगर्दा नयाँ–नयाँ प्रजातिको भाइरस देखापरेको भन्दै उनले भनिन्, ‘कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने ठूलो जनशक्ति महिला स्वास्थ्यकर्मी भएकाले कोभिड–१९ विरुद्ध लड्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सरसफाइकर्मीप्रति सम्मान छ ।’
आजको समयमा नेपाली महिलाको ठूलो हिस्सा घरायसी कामकाजमा सीमित हुनुपर्ने अवस्था अझै रहेको भन्दै राष्ट्रपति भण्डारीले थोरै संख्यामा महिला व्यवस्थापिका र नेतृत्व तहमा पुगेको बताइन् । ‘यस्तो स्थितिमा पनि महिलाले चिकित्सा र स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाउनु सराहनी हो,’ उनले भनिन्, ‘महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्न सरकारले आफ्ना नीति तथा कार्यक्रममा सुधार गरे पनि पर्याप्त छैन । अझ सुधार गर्नुपर्दछ ।’