
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ । नेकपा (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सरकारले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेको हो ।
तर बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा भने छलफल नगरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले गठबन्धनभित्र मन्त्रालयको टुंगो नै लगाउने काम नभएकाले पार्टी भित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको तर्क गरे । प्रवक्ता श्रेष्ठले भने,‘सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ । गठबन्धनभित्र मन्त्रालय कसले पाउने भन्ने टुंगो नलागेकाले पार्टी भित्र कसलाई पठाउने भन्ने विषयमा छलफल गरिएको छैन । १÷२ दिन भित्र सरकारले पूर्णता पाउने गरी गठबन्धनभित्र छलफल हुन्छ ।’