
बार्सिलोनाको खेलाडीका रूपमा अन्तिमपटक पत्रकार सम्मेलन गर्दा लियोनल मेसीले आइतवार आँसु बगाएका छन् । पत्रकार सम्मेलनमा उनले क्याम्प नाओमा २१ वर्षको करीयरको अन्त्य भएको पुष्टि गरे ।
जुन महिनामा मेसीले क्लबसँग गरेको अन्तिम सम्झौताको म्याद सकिएपछि उनी फ्री एजेन्ट भए । आर्थिक तथा संरचनागत अवरोधका कारण मेसीसँग नयाँ सम्झौता गर्न नसकिएको भनी बार्साले शुक्रवार पुष्टि गरेको छ ।
ला लिगाले निर्धारण गरेको तलब सीमालाई पार नगरिकन बार्साले मेसीलाई सम्झौतामा हस्ताक्षर गराउन सक्ने स्थिति नै रहेन । अर्थात्, ६ पटक बालोन डीओर जितेका मेसी नयाँ क्लब खोज्न बाध्य भएका छन् । यस परिस्थितिले आफूलाई स्तब्ध बनाएको मेसीले बताए ।
‘यो अत्यन्तै कठिन परिस्थिति हो । म यसका लागि तयार थिइनँ । पोहोर साल म क्लब छोड्न तयार थिएँ तर यो वर्ष म र मेरो परिवार यहीँ बस्न चाहेका थियौं,’ उनले सञ्चारकर्मीहरूलाई बताए ।
‘आज मैले अलबिदा भन्नुपर्ने भएको छ । म यहाँ १३ वर्षको उमेरमा आइपुगेको थिएँ र २१ वर्षपछि म पत्नी र तीन छोराछोरीका साथ बिदा हुँदैछु ।’
‘धेरै वर्ष टाढा गए पनि हामी बार्सिलोना फर्किनेछौं किनकि मैले मेरा छोराछोरीलाई प्रतिज्ञा गरेको छु,’ उनले थपे ।
मेसीले पेरिस सेन्ट-जर्मेनमा प्रवेश गर्ने सम्भावना रहेको पनि पत्रकार सम्मेलनमा बताए ।