
गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरीलाई कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई आइतवार सम्बोधन गर्दै उनले थप व्यावसायिक, अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरी बललाई जनशक्ति एवम् स्रोतसाधन सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा तालिम सञ्चालन भएको थियो ।
गृहमन्त्री खाणले उक्त तालिममा सर्वोत्कृष्ट भएकी सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गरेका थिए ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमित स्रोतसाधनका बाबजुद् पनि शान्ति सुरक्षाका क्षेत्रमा निरन्तर खटिरहेको बताए ।
गत वर्ष भदौ २२ गतेबाट सञ्चालन भएको तालिम २० जना महिलासहित ६१ सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्रप्रसाद जोशी र कवाज तथा चाँदमारीतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषी महत उत्कृष्ट भएका छन् ।