०३ असार २०८३, बुधबार
वाखान कोरिडोरलक्षित कूटनीति

अफगानिस्तानको वाखान कोरिडोरमा आँखा लगाउँदै चीन, ब्रिटिशले कोरेको पुरानो रेखामा के छ खास ?

साउन २५, २०७८
अफगानिस्तानको वाखान कोरिडोरमा आँखा लगाउँदै चीन, ब्रिटिशले कोरेको पुरानो रेखामा के छ खास ?

अफगानिस्तानबाट अमेरिका नेतृत्वको पश्चिमी सैनिकहरू क्रमशः हट्दै गएपछि तालिबानले पकड बलियो बनाइरहेको अवस्था छ । त्यसै सन्दर्भमा अफगानिस्तानको भूरणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको वाखान कोरिडोरको चर्चा बाक्लिन थालेको छ । अफगानिस्तान, ताजिकिस्तान, पाकिस्तान र चीनसँग जोडिने भएकाले वाखान कोरिडोरको भूराजनीतिक तथा भूरणनीतिक महत्त्व उच्च छ ।

हुन त अफगानिस्तान देश आफैं नै मध्य एसिया र दक्षिण एसियाको बीचमा रहेकाले भूरणनीतिक रूपमा महत्त्वपूर्ण छ । तर त्यसको वाखान कोरिडोर (दहलीज) चाहिँ चीनसँग जोडिने भएकाले बढी महत्त्वपूर्ण बनेको हो । मध्य एसियामा चीनको बेल्ट यान्ड रोड इनिसिएटिभ परियोजना सञ्चालनको महत्त्वपूर्ण प्रवेशविन्दु भएकाले वाखान कोरिडोरमा विश्लेषकहरूको ध्यान खिचिएको छ । 

लगभग २२० किलोमिटर लामो वाखान कोरिडोर अफगानिस्तानको उत्तरी भागमा पर्छ र यो उत्तरतर्फ रहेको ताजिकिस्तान तथा दक्षिणतर्फ रहेको पाकिस्तानअधीनस्थ कश्मीरको ठीक बीचमा छ । भारतमा बेलायतको उपनिवेश कायम रहँदा बेलायतले अफगानिस्तानसँगको सीमा निर्धारण गर्नका लागि बनाएको डुरान्ड लाइनबाट नै वाखान कोरिडोर बनेको हो । रुसी साम्राज्य र बेलायती साम्राज्यबीचको मध्यवर्ती क्षेत्रमा रूपमा रहेको यस कोरिडोरको आकार ताप्केको बिँड जस्तो देखिन्छ । 

बेलायती साम्राज्यले निकै सोचविचार गरेर यस कोरिडोरको सीमारेखा कोरेको थियो । रुसी साम्राज्यको विस्तार मध्य एसियाबाट अगाडि बढ्न नसकोस् भनी बेलायतले अफगानिस्तानलाई मध्यवर्ती क्षेत्र बनाएपछि बेलायत र रुस मिलेर गठन गरेको पामिर सीमा आयोगले वाखान कोरिडोरको सीमारेखा कोरेको हो । ताजिकिस्तान र पाकिस्तानको साँधसीमा नजोडियोस् भनी रणनीतिक रूपमा सोचेर नै यो सीमा कोरिएको हार्वर्ड विश्वविद्यालयको हार्वर्ड इन्टरनेसनल रिभ्युका वरिष्ठ सम्पादक केन्ड्रििक फोस्टर लेख्छन् । 

वाखान कोरिडोरको पुछारमा रहेको वाखजिर पास चीनको प्राचीन रेशममार्गमा पर्ने महत्त्वपूर्ण बाटो थियो । तर जनगणतन्त्र चीन बनेलगत्तै यसलाई बन्द गरिएको थियो । सन् २००९ मा अमेरिकाले चीनलाई वाखान कोरिडोर हुँदै चिनियाँ भूमिमा प्रवेश गर्न दिन अनुरोध गरेको थियो । पाकिस्तानमा नेटोका जत्थामाथि आक्रमण बढ्दै गएपछि यो वैकल्पिक मार्ग हुँदै नेटो सैन्यबललाई आपूर्ति पुर्‍याउन पाए हुन्थ्यो भन्ने अमेरिकाको चाहना थियो । तर चीनले त्यस्तो पहुँच दिएन ।

चीनमा सी चिनपिङ राष्ट्रपति बनेपछि बेइजिङले बेल्ट यान्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत प्राचीन रेशममार्गलाई पुनर्जीवित गर्न खोजेको छ । त्यसै सिलसिलामा उसले वाखान कोरिडोरमा सडक निर्माण गरेको छ । पाकिस्तानमार्फत अरब सागरमा सहज पहुँच बनाउने चीनको रणनीतिमा मध्य एसियाली मुलुकहरूलाई जोड्नका लागि पनि वाखान कोरिडोर महत्त्वपूर्ण भूभाग हो । काराकोरम राजमार्गबाट नजिकै रहेकाले वाखान कोरिडोर बीआरआई अन्तर्गतको चीन–पाकिस्तान आर्थिक कोरिडोरसँग जोडिनेछ । 

विभिन्न किसिमका ऊर्जा तथा दुर्लभ पदार्थको खानी भएको अफगानिस्तानबाट ऊर्जा चीनसम्म पुर्‍याउनका लागि पनि यस कोरिडोरको महत्त्व चीनले बुझेको छ । त्यसैले वाखान कोरिडोरमा सडक निर्माणसँगै अन्य भौतिक संरचना पनि चीनले द्रुत गतिमा बनाएर स्थानीय वाखीहरूको मन जित्न खोजिरहेको छ । 

मोबाइल फोनका केन्द्रहरू निर्माण गर्ने तथा इन्टरनेट सुविधाका लागि अप्टिकल फाइबरहरू बिछ्याउने काम गरेर चीनले अहिलेसम्म एकलासे जस्तो भएको वाखान कोरिडोरलाई विश्व व्यवस्थासँग जोड्न खोजेको हसन यासेर मलिक लेख्छन् । तर जटिल भौगोलिक अवस्थाका कारण एकान्तमा प्रकृतिको आनन्द उठाउँदै बसिरहेका स्थानीय वाखीहरू आधुनिक प्रविधि भित्रिएसँगै आफूहरूको सरल जीवनशैलीमा नकारात्मक असर पर्ला भनी चिन्तित छन् । 

वाखान कोरिडोर चीनको सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रसँग जोडिएको छ । उक्त क्षेत्रको ताशकुर्गान क्षेत्रमा चीनले सन् २०२२ को मध्यसम्ममा विमानस्थल निर्माण पूरा गर्न खोजेको छ । केही समयअघि खिचिएको भूउपग्रहीय तस्वीरमा चीनले उक्त विमानस्थलमा भूमिगत संरचनाहरू पनि बनाएको देखिएको छ । त्यसमार्फत उसले सामरिक उपयोग गर्नसक्ने देखिएको छ । साथै, सन् २०१६ देखि अफगान राष्ट्यि सेनासँग मिलेर चिनियाँ सेनाले वाखान कोरिडोरमा संयुक्त गश्ती गरिरहेको खबर पनि आएका छन् । अफगानिस्तानबाट ताजिकिस्तान र चीनको सिन्च्याङ प्रान्तमा आतंकवादीहरूको ओइरो नलागोस् भनी चिनियाँ सेना सतर्क बनेको देखिन्छ ।

चीनले आक्रामक रूपमा वाखान कोरिडोरमा गतिविधि बढाएकाले भारत चिन्तित बनेको छ । वाखजिर पास खोलेर आफ्नो लागि भूआर्थिक अवसर निर्माण गरेसँगै चीनले भारतलाई घेराबन्दी गर्न पनि यसको उपयोग गरिरहेको भारतको बुझाइ देखिन्छ । भारत सरकारका बहालवाला मन्त्री तथा सेवानिवृत्त सेनाप्रमुख जनरल भीके सिंहले ‘अफगानिस्तानमा कट्टरपन्थ तथा वाखान कोरिडोरको भूरणनीतिक महत्त्व’ शीर्षकमा भोपालको बरकतुल्लाह विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । चीनले अफगानिस्तानको प्राकृतिक स्रोत दोहनका लागि यस कोरिडोरको उपयोग गरिरहेको सिंहको दाबी छ । 

मध्य एसियाली मुलुकहरूसँग सम्पर्क बढाउन खोजिरहेकाले भारतका लागि वाखान कोरिडोर महत्त्वपूर्ण छ । अहिले ती देशहरूमा पुग्न इरानको चाबहार बन्दरगाह जस्तो लामो बाटो जानुपरिरहेको भारतलाई वाखान कोरिडोरमा पहुँच निकै छोटो पर्न जान्छ । तर पाकिस्तानसँग कटु सम्बन्ध रहेको र अफगानिस्तानमा पनि रणनीतिक रूपमा कमजोर उपस्थिति रहेको भारतले वाखान कोरिडोरलाई आफ्नो भूरणनीतिक स्वार्थअनुकूल प्रयोग गर्न सक्ने खासै आधार देखिँदैन ।

अनि पाकिस्तानलाई पनि मध्य एसियाली मुलुकहरूसँग कारोबार गरेर विदेशी ऋण चुक्ता गर्ने अवसर प्राप्त गर्न पनि वाखान कोरिडोर महत्त्वपूर्ण छ । पाकिस्तानले ब्रोगाल पास हुँदै वाखान कोरिडोरमार्फत हिन्दुकुश पर्वतहरूमा पहुँच बनाएर भूराजनीतिक लाभ लिन सक्ने दाबी पाकिस्तानको नेसनल डिफेन्स युनिभर्सिटीका उपप्राध्यापक डा मोहम्मद मुनिर र कोमस्याट्स विश्वविद्यालयका उपप्राध्यापक डा मोहम्मद शफिकले गरेका छन् । पाकिस्तानलाई एक्ल्याउने भारतको योजनालाई पनि यस कोरिडोरको पहुँचमार्फत रोक्न सकिने सोच इस्लामाबादले लिएको देखिन्छ ।

त्यसो त मध्य एसियाली मुलुकहरू पनि वाखान कोरिडोरमा आँखा लगाइरहेका छन् । आफूकहाँ रहेको विशाल ऊर्जा भण्डार निर्यात गरी फाइदा उठाउन उनीहरू न्यानो पानी भएको बन्दरगाह (वार्म वाटर्स) मा पहुँचको खोजी गरिरहेका छन् । त्यस्तो बन्दरगाह पाकिस्तानको ग्वादरमा छ । त्यसैले वाखान कोरिडोर हुँदै पाकिस्तान प्रवेश गरेर चीनको बेल्ट यान्ड रोड परियोजनाअन्तर्गतको सम्पर्क सञ्जालमा जोडिएर आफ्ना उत्पादन ग्वादर पुर्‍याउने मध्य एसियाली मुलुकहरूको सोच देखिन्छ । रुसको विस्तृत प्रभावबाट मुक्त भई स्वतन्त्र कारोबारका लागि पनि उनीहरूलाई वाखान कोरिडोर हुँदै ग्वादरसम्मको पहुँच जरूरी देखिन्छ ।

अफगानिस्तान आफैंले पनि वाखान कोरिडोरबाट धेरै फाइदा उठाउन सक्छ । यसमार्फत अफगानिस्तानलाई प्रमुख शक्तिहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न सहज हुन्छ । जटिल भूभागका कारण अफगान सरकारको पहुँच यस क्षेत्रमा नहुने गरेको इतिहास रहेकोमा विकास निर्माणको कामसँगै उक्त क्षेत्रमा स्थानीयको जीवनस्तर उकास्न सरकार सफल भएमा देशको राजनीतिक भविष्य बलियो बन्नेछ । यस कोरिडोरमार्फत अफगानिस्तानले तेल, ऊर्जा र दुर्लभ पदार्थ निर्यात गर्न पाउनेछ । 

सबभन्दा महत्त्वपूर्ण कुरा त, अफगानिस्तानका द्वन्द्वग्रस्त इलाकालाई छल्दै वैकल्पिक मार्गबाट कारोबार गर्न यसले अवसर दिन्छ र पाकिस्तानमाथिको अफगानिस्तानको अतिनिर्भरतालाई घटाउनेछ । तर अफगानिस्तानमा शान्ति बहाल भएर स्थिरता आउने प्रत्याभूति नहुन्जेल वाखान कोरिडोरमार्फत लाभ लिने कुरा गफमा मात्र सीमित रहनेछ ।

जे होस्, वाखान कोरिडोरमा विभिन्न मुलुकको आआफ्नै रणनीतिक तथा आर्थिक स्वार्थ रहेकाले यो अत्यन्तै महत्त्वपूर्ण भूभाग हो । यस कोरिडोरको सुरक्षा प्रत्याभूति गर्न सकिएमा यसमार्फत उक्त क्षेत्रका धेरै मुलुकले भूआर्थिक सम्पर्क कायम गर्न सक्छन् र क्षेत्रको आर्थिक प्रगति पनि सुनिश्चित हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्