
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारीले सोमवार धौलागिरि अस्पताल बागलुङको अवलोकन तथा निरीक्षण गरेकी छन् ।
सो अवसरमा उनले आइसोलेसन कक्ष, अक्सिजन प्लान्ट, शिशु सघन कक्ष, प्रसूति कक्ष, पीसीआर प्रयोगशाला र डायलासिस कक्षको वस्तुस्थित तथा अस्पतालको सूचना केन्द्रबाट फोन गरेर कोरोना संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइन् ।
सोही अवसरमा अस्पतालद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा अस्पतालले महत्वपूर्ण काम गरेको उल्लेख गरिन् ।
‘अस्पतालमा दक्ष जनशक्ति र उपकरण थप्दै जानुपर्ने अवस्था छ, अस्पताललाई २०० शय्यामा स्तरोन्नति गर्दा भवन समेत थप्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘अस्पतालको विकासप्रति सरकार संवेदनशील छ, छिट्टै नै आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिने छ ।’