
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको बताएका छन् । आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन् । ‘धरहराबाट सरकारले मास्क अभियान थालेको छ, यो सकारात्मक हो,’ शाक्यले भने, ‘धरहरा निर्माण भएपछि त्यसको गरिमा थप बढेको छ । धरहराको महत्व महानगरवासीले मात्रै होइन सिङ्गो देशवासी र विदेशीहरुले पनि थाहा पाए ।’ सरकारले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शनिबार साँझ धरहरामा ‘म जिम्मवार नागरिक’ ह्यासट्याग लेखेर अभियानको प्रचार सुरु गरेको थियो ।
कमलपोखरी पुननिर्माण सम्पन्न भएपछि रानीपोखरी भन्दा सुन्दर देखिने पनि उनले बताए ।