
राष्ट्रियसभाका सांसदहरूले तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
मंगलवार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद दीपा गुरुङले महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएकी छन् ।
उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका धामीको घटना जघन्य अपराध भएको बताइन् ।
सांसद गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकाले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।
‘आजभन्दा १२ दिनअघि महाकाली नदीमा भएको तुइन दुर्घटना हामी नेपालीहरूको निम्ति भारतीय फौजबाट भएको दोस्रो जघन्य अपराध हो, शहीद गोविन्द गौतमलाई पनि गोली हानेर मृत्युशय्यामा पु¥याएको घाउ हाम्रो मानसपटलमा ताजै छ, अहिले पनि तिनै भारतीय फौजबाट तुइन काटेर मान्छे मार्ने काम प्रत्यक्षदर्शीबाट खुलासा भएको छ,’ उनले भनिन्, ‘यो गठबन्धन सरकारले सत्यतथ्यमा आधारित छिटोभन्दा छिटो घटनाको विवरण बाहिर ल्यायोस्, सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’
त्यसैगरी सांसद नैनकला ओझाले कालापानी, लिपुलेक, लिम्पियाधुराको भारततद्वारा मिचिएको जमिन छिटोभन्दा छिटो फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराइन् ।
अर्का सांसद प्रकाश पन्तले अपांगता ऐन कार्यान्वयन गर्ने गरी आएको अपांगता अधिकारसम्बन्धी नियमावलीमा आपत्ति जनाए । उनले यो नियम व्यवहारमा लागू हुने गरी पुनर्विचार र पुनर्लेखन गर्न सरकारलाई सुझाव दिए ।