
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार कुनै संघर्षबाट नआएको दाबी गरेका छन् ।
मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई लोकतान्त्रिक भन्न नसकिने बताए ।
‘अलोकतान्त्रिक विधिबाट आएको सरकार हो यो । यो सरकार लोकतान्त्रिक भन्न सकिँदैन, संवैधानिक भन्न सकिँदैन,’ उनले भने, ‘आउने बित्तिकै पहिल्यै भूमिहीन सुकुम्बासीमाथि बन्चरो चलायो, कसको सरकार भन्ने कुरा यसबाट देखिँदैन ?’
संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा संघर्षबाट प्राप्त सरकार भनेर उल्लेख गरिएकोप्रति ओलीको आपत्ति जनाए । ‘तपाईंले यो सरकार कुनै संघर्षको मैदानबाट ल्याउनुभएको हो ? परमादेशबाट ल्याउनुभएको होइन ? परमादेश संघर्ष हो ? जाली मुद्दाबाट सरकार ल्याउने, त्यहाँबाट भन्ने संघर्ष,’ ओलीले भने ।
अध्यक्ष ओलीले नेकपा माओवादीको लडाकु शिविरभित्र भएको भनिएको भ्रष्टाचारको कुरा संसदमै उप्काएका छन् । उनले गठबन्धन सरकारले शिविरको भ्रष्टाचारको छिनोफानो गर्नुपर्ने बताए ।
‘भ्रष्टाचारका थुप्रै कुरा उठ्या छन् । क्यान्टोनमेन्ट (माओवादी लडाकु शिविर) को यत्रो कुरा उठेको छ, यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छिनोफानो गरेर नेपाली जनतालाई जवाफ दिनेछ,’ ओलीले भने, ‘ललिता निवास पनि गर्छ होला । मातातीर्थको पनि गर्छ होला । अरु विभिन्न ।’
अध्यक्ष ओलीले अमेरिकी सहयोगको एमसीसी परियोजनाबारे सरकारको जवाफ खोजेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने बताए ।
‘एमसीसी गर्नुभएको थियो तपाईंहरूले । एमसीसीबारे साझा न्युनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो क्या हो ? मैले त देखिनँ कतै,’ ओलीले भने, ‘जनताले जान्न चाहेका छन् – के गर्नुहुन्छ एमसीसी ? तपाईंको बहुमतको सबल जत्थाले के भन्न ? एमसीसी पास गर्ने कि फेल गर्ने ?’
संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको ओलीले बताए । ‘नेपाली कांग्रेसको अनुहार कहीँकतै पनि छैन । नीतिमा छैन, कार्यक्रममा छैन । केहीमा पनि छैन,’ ओलीले भने ।
अध्यक्ष ओलीले सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘आज त सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ, संवादहीनताको अवस्था छ । सत्तापक्ष ‘ठेगान लगाइदिन्छौं’ भन्ने उन्मादमा छ ।’
सरकार भनेको निरन्तरताको कुरा भएकाले अघिल्लो सरकारले गरेका राम्रा काम अगाडि बढाउन अध्यक्ष ओलीले आग्रह गरे । उनले भने, ‘अघिल्लो सरकारले गरेका राम्रा कुरा अगाडि बढाउनुपर्छ । कुनै सहमति गरेको छ भने पछाडि आउने सरकारले अगाडि बढाउनुपर्छ, ती उपलब्धिलाई कदर गर्नुपर्छ । बाँकी रहेकालाई कार्यान्वयन गर्नुपर्छ । त्यतापट्टि ध्यानाकर्षण गराउन चाहन्छु ।’