गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराका विभिन्न खोप केन्द्रमा अनुगमन गरेका छन् ।
कोरोना विरुद्धको खोप सञ्चालन भइरहेका केन्द्रमा भीडभाड बढेको, घण्टौंसम्म लाइनमा बस्नुपरेको लगायत गुनासा आएपछि उनले मंगलवार आकस्मिक रूपमा स्थलगत अनुगमन गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले पोखराको वडा नम्बर ७ को रत्नचोकस्थित खोपकेन्द्र, वडा नम्बर ८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र वडा नम्बर १ को खोप केन्द्रमा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिए ।
लाइनमा बसेका सेवाग्राही, खोप लगाइसकेका व्यक्ति र खोप लगाउने काममा संलग्न स्वास्थ्यकर्मीसँग पनि केन्द्रमा भएको व्यवस्थापन, समस्या र चुनौतीबारे पनि उनले जानकारी लिए ।
मुख्यमन्त्री पोखरेलले भीड नियन्त्रणका लागि खोप केन्द्र बढाउन र लाइन व्यवस्थित गर्नका लागि तत्काल प्रहरी संख्या बढाउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र कास्कीका प्रहरी उपरीक्षक रमेश थापालाई निर्देशन दिए ।
संघ र प्रदेश सरकारले खोेप अभियानलाई प्राथमिकतामा राखेको भन्दै अब बिस्तारै सबै उमेर समूहलाई पुग्ने गरी आउने भएकाले भीडभाड नगरिदिन सर्वसाधारणलाई अनुरोध गर्दै उनले भने, ‘उमेर समूहअनुसार हामीले खोप वितरण गरेका छौं, बाँकी रहेको केही खोप प्राथमिकताकै आधारमा उपलब्ध गराएका छौं, हतार नगरी दिनुहोला, प्रदेशवासीलाई खोप दिलाउने जिम्मा प्रदेश सरकारको हो ।’