
सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब २४ करोड ३४ लाख ३३ हजार रुपैयाँको तरकारी निकासी गरेको छ ।
लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विक्रम संवत् २०७७ साउन १ देखि विक्रम संवत् २०७८ असार मसान्तसम्ममा ३ करोड ९० लाख ७६ हजार ९६१ किलो तरकारी निकासी गर्दा २ अर्ब २४ करोड ३४ लाख ३३ हजारको रकम संकलन गरेको हो ।
आव २०७७/०७८ को अन्तिम महिना असारमा २९ लाख ५६ हजार २०० किलो तरकारी निकासी गर्दा ९ करोड १ लाख ४० हजार ४५० बराबरको तरकारी निकासी गरिएको बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।
जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका टमाटर, परबर, बोडी, सिमी, भाण्टा, करेला लगायतका तरकारी लालबन्दीको तरकारी बजारमा आउने गरेको छ ।
देशका सिन्धुली, रामेछाप, काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौंडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सितामाडी लगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ ।
त्यसमध्ये टमाटर ५० प्रतिशत, पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र अन्य तरकारी ५ प्रतिशत गरी कूल ३ करोड ९० लाख ७६ हजार ९६१ किलो तरकारी लालबन्दीबाट निकासी भएको छ ।