प्रतिपक्षमा एमाले

देउवा चुकेको भूमिकामा ओलीको सशक्त 'कमब्याक'

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

देउवा चुकेको भूमिकामा ओलीको सशक्त 'कमब्याक'

गणतन्त्र घोषणाको संकल्प प्रस्ताव पारित गर्न नेकपा माओवादी र तत्कालीन नेकपा एकीकृत लगायतले समावेदनमार्फत अन्तरिम व्यवस्थापिका संसद्को अधिवेशन आह्वान गरेका थिए, २०६४ सालमा ।


Advertisement

अधिवेशनको पहिलो दिनको पहिलो बैठकमै एमाले सांसदले बोल्नका लागि ढ्यापढ्यापे समय मागे ।


Advertisement

पत्रकार वीरेन्द्र साहको हत्याका विषयलाई लिएर एमालेले सदन तताएपछि एकीकृतका सांसद परि थापाले भनेका थिए– हामीले समावेदन गर्‍यौं, संसद् त उहाँहरूलाई चाहिएको रहेछ । 

आफैंले विघटन गरेर सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएको प्रतिनिधि सभा बैठकमा मंगलवार प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले दमदार भाषण गरे । 


Advertisement

संसदीय समितिमा माधव नेपालले ओलीपक्षीय सांसदलाई प्रतिगमनका मतियार बाहिर जाऊ भनेर निर्देशन दिएपनि प्रतिनिधि सभा विघटन गरेका ओलीले संसद्को भरपूर प्रयोग गरे । 

सरकारले आफ्नो साझा न्युनतम कार्यक्रम पेश गर्न संसद्लाई बिर्सेको समयमा ओलीले संसद्को मञ्चबाट सरकारका न्युनतम साझा कार्यक्रमको चिरफार गरे । आफ्नो सरकारको बचाउ गरे । 

मंगलवारको सम्बोधनमार्फत ओलीले केही सन्देशहरू छाडेका छन् । संसद्मा ओलीले बोलेका प्रत्येक विषय र शब्द वजनदार छन् । 

संसद्को वर्तमान कार्यकालमा प्रतिपक्षी दलको नेताको हैसियतमा ओलीको सम्बोधनको पहिलो सन्देश आगामी १५/१६ महिना एमाले संसद्मा सशक्त प्रतिपक्षको भूमिकामा रहनेछ भन्ने नै हो ।

प्रतिपक्षी भूमिकामा एमाले सधैँ सशक्त र अब्बल नै देखिन्छ । प्रतिनिधि सभाको शून्य र विशेष समयमा एमाले सांसदहरू ‘परमादेशको सरकार’ भनेर अहिलेको सरकारविरुद्ध खनिँदै आएका छन् ।

ओलीले संसद्मा गरेका सबै दाबी सत्य होइनन्, तर वाक क्षमतामार्फत ओलीले एमालेको प्रतिपक्षी धारमा पाइन लगाएका छन् । रोस्ट्रममा सवाघण्टा उभिँदा ओलीले सांसद्का दर्जनौ ताली खाए । संसद्भित्रको भाषणमा यसको महत्त्व हुन्छ । 

ओलीले सर्वोच्च अदालत, प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्षदेखि एमाले वरिष्ठ नेता माधव नेपालसम्मलाई कठोर जवाफ फर्काए । सरकारका सामु ओलीले केही प्रश्न तेर्स्याइदिएका छन्, जसको जवाफ सरकारले दिनुपर्नेछ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूमि फिर्ताबारे भारतसँग वार्ता गर्न ओलीले सत्तापक्षलाई खुला चुनौती दिएका छन् । 

पछिल्ला साढे ३ वर्षमा प्रतिपक्षी दलको नेताको भूमिकामा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा चुकेका थिए । प्रतिपक्षीको भूमिका सरकारको नेतृत्व गरेको नेकपाको असन्तुष्ट धारले जति निभायो त्यति पनि कांग्रेसले निभाउन सकेन । कांग्रेस मौन र शान्त थियो । सदनमा कांग्रेसको भूमिका लाक्षी प्रतिपक्षको रूपमा देखियो । खास प्रतिपक्षको भूमिकामा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल मात्र थिए । 

संसद्मा प्रतिपक्ष सशक्त बन्न नसक्दा सरकार स्वेच्छाचारी बन्ने संसदीय व्यवस्थाको उपज नै हो । विगत तीन वर्ष त्यही हुन पुगेको थियो । केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको दिनदेखि नै कांग्रेसले अहिले ओलीले जस्तै संसद्मा सरकारको एक–एक कुराको हिसाब किताब गरेको भए शायद ओली संसद् विघटनको अवस्थामा पुग्ने थिएनन् । गगन थापा, मीनेन्द्र रिजाल, डा. डिला संग्रौलालगायत अपवाद मात्र प्रतिपक्षी जस्तो सुनिन्थे । 

प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीका लागि सबैभन्दा अनुकूल विषय सदनमा कमजोर प्रतिपक्ष थियो । कांग्रेस संख्यात्मक रूपमा पनि कमजोर थियो, जससँग संसद्को विशेष अधिवेशन बोलाउन या कुनै प्रस्ताव दर्ताका लागि आवश्यक एक चौथाइ सदस्य पनि थिएनन् । लाचार प्रतिपक्षको भरपुर फाइदा ओलीले लिएका थिए । पुस ५ मा प्रतिनिधि सभा विघटनको आसपासमा ओलीप्रति देउवाको ‘सफ्ट कर्नर’ जस्तो देखिन्थ्यो । 

माओवादी नेता नारायणकाजी श्रेष्ठले केहीदिन अघि राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभा विघटनमा केपी ओलीको मात्र दोष नरहेको बताएका थिए । एक हदसम्म त्यो सही हो । अहिले एमालेले खेलेको भूमिका विगतमा प्रतिपक्षको रूपमा कांग्रेसले खेल्न सकेको भए शायद ओलीले दुई–दुईपटक प्रतिनिधि सभा विघटन गर्ने थिएनन् । 

महंगी, कालोबजारी, भ्रष्टाचार जस्ता विषय प्रतिपक्षी दलले देखेकोनदेख्यै गरेर बसेको थियो । शायद आगामी दिनमा एमालेको भूमिका विगतमा कांग्रेसको भन्दा पृथक हुनेछ । 

नेपालको आमजनमत सधैँ सत्ताको विपक्षमा हुन्छ । यस्तो बेला विपक्षीलाई जनताको आवाज बोल्ने अवसर मिल्छ । 

सरकारको विरोध या आलोचना गर्दा जनताले ताली बजाउँछन् । सत्ताको रसास्वादन गरेर एमाले फेरि जनताको आवाज बोल्ने ठाउँमा पुगेको छ । 

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल(ठूलो पनि दोस्रो र तेस्रो जोड्दा पनि नभ्याउने) प्रतिपक्षमा पुग्ने अनि दोस्रो, तेस्रो र चौथो दल मिलेर सरकार बनाउने दुर्लभ संसदीय अभ्यास अहिले नेपालमा छ । सत्ताबाट प्रतिपक्षमा पुगेको पीडा र छटपटी त एमालेमा छँदैछ, तर जनतासँग नजिकिन र जोडिन सत्ताभन्दा बाहिर अनुकूल हुन्छ । 

कहिले कांग्रेस, कहिले माओवादी त कहिले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुँदा एमाले प्रतिपक्षमा भन्दा ज्यादा सत्तामा बसेको थियो, पछिल्लो कालखण्डमा । त्यही भएर नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले एमालेलाई भाइ कांग्रेसको उपमा दिने गरेका थिए । 

२०७३ सालमा अविश्वासको प्रस्तावमार्फत प्रचण्डले विस्थापित गर्दा प्रतिपक्षमा पुगेको एमालेका अध्यक्ष ओलीले मूल ढोकाबाट सिंहदरबार पस्ने बताएका थिए । पछि तिनै प्रचण्डको सहारा लिएर ओली मूलढोकाबाटै सिंहदरबार छिरे । ओलीले फेरि दोहोर्‍याएका छन्, अझ बढी जनमत लिएर सिंहदरबार भित्रिन्छौं । प्रतिपक्षी बेञ्चमा बसेर हुने रचनात्मक भूमिकाले एमालेको पुनरागमनका लागि सम्भावनाको ढोका खोल्नेछ । 

सडकका रेलिङ भाँच्ने र ५६ औं दिनसम्म संसद अवरुद्ध गरेर मात्र प्रतिपक्षको भूमिका पूरा हुँदैन भन्ने कुराको साक्षी त एमाले आफैँ हो ।

पढ्नुहोस्, यो पनि :

संसद्को ‘बायाँ रो’मा कांग्रेस : रचनात्मक कि लाचार प्रतिपक्ष ?

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्