किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालनमा ल्याइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले १५ लाख रुपैयाँको लगानीमा स्वास्थ्य कार्यालयमा सो ल्याब स्थापना गरेको छ ।
किटजन्य रोग बाहकका रूपमा रहेका लामखुट्टे र भुसुनाजस्ता किटाणुबारे जानकारी लिन सुदूरपश्चिम प्रदेशमै पहिलोपटक सो ल्याब स्थापना गरिएको राजपुरस्थित डोटी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए ।
‘मानव स्वास्थ्यमा हानी पुर्याउने विभिन्न किटाणुको अध्ययन गर्ने एक मात्रै प्रयोगशाला मकवानपुर जिल्लाको हेटौंडामा मात्र छ,’ उनले भने, ‘प्रयोगशालाका दक्ष जनशक्तिले देशभरिका विभिन्न स्थानमा पुगेर किटाणुको अध्ययन गर्दै आएका थिए तर थोरै जनशक्ति र एउटै ल्याबले सबै प्रदेशमा आवश्यकता अनुसार अन्वेषण गर्न नसक्ने भएकाले यहाँ फैलिने विभिन्न किटजन्य रोगको अध्ययनका लागि ल्याब सञ्चालनमा ल्याएका छौं ।’
औलो रोग फैलाउने एनोफिलिज लामखुट्टे र कालाजार रोग फैलाउने भुसुनाबारे विस्तृतरूपमा अध्ययन गर्न ल्याब सहयोगी हुने निर्देशक अवस्थीको भनाइ थियो । कञ्चनपुरमै औलो माइक्रोस्कोपिक तालिम केन्द्र समेत रहेको छ ।
यी दुवै ल्याब एकैठाउँमा स्थापना गरिएकाले विभिन्न किटजन्य रोग निवारणका लागि सहयोगी हुने भएको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश स्वास्थ्य निर्देशनालयले औलो रोग बढी फैलिएका क्षेत्रमा हरेक महिनामा १ हप्ताको कार्यतालिका बनाई १२ महिनासम्म लामखुट्टेको आनीबानी अध्ययन गर्ने भएको छ ।
कार्यक्रमअनुसार साउन २५ गतेदेखि भीमदत्त नगरपालिका–९ र १० लाई केन्द्रविन्दु मानी औलो रोग सार्ने लामखुट्टेको अध्ययन शुरू गरिएको निर्देशनालयका स्रोतव्यक्ति हेमराज जोशीले बताए । यसबाट लामखुट्टेको नयाँ प्रजाति पहिचान हुनाका साथै आनीबानी समेत थाहा हुने र किटनाशक विषादी तथा किटनाशक झुलको प्रभावकारिताबारे पनि अध्ययन गर्न सकिने उनको भनाइ थियो ।